जापानमा पानीजहाजमा सवार १० जनामा कोरोनाको संक्रमण

जापानमा पानीजहाजमा सवार १० जनामा कोरोनाको संक्रमण

जापनको क्रुज जहाजमा सवार १० जनामा कोरोनाको संक्रमण भएको पाइएको हो । जापानीको योकोहामा बन्दरगाहमा गरिएको कोरोना परीक्षणमा १० जनालाई संक्रमण भएको पाइएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । 

डाइमन्ड प्रिन्सेसमा सवार ३७ सय यात्रुमध्ये अहिलेसम्म तीन सय जनाको कोरोना परीक्षण गरिएको बीबीसीले जनाएको छ । कोरोना परीक्षण जारी रहेकाले संक्रमितको संख्या बढ्‍न सक्ने बताइएको छ । 

गत साता उक्त पानीजहाजमा सवार ८० वर्षीय एक हङकङबासी जहाजमै बिरामी भएपछि कोरोना जाँच सुरु गरिएको थियो । संक्रमित भेटिएका १० जना ५० वर्षभन्दा माथिका रहेको जापानी सञ्‍चारमाध्यम एनएचकेले उल्लेख गरेको छ । जसमा चार जना ५० वर्षका, चारजना ६० वर्षका, एक-एकजना ७० र ८० वर्षका भएको बताइएको छ । जसमध्ये दुईजना जापानी भएको बताइएको छ । 

जापानी स्वास्थ्यमन्त्री काटसुनोबु काटोले २७३ जनामा ३० जनामा संक्रमण भएको बताएका छन् । बुधबार ब्रफिङका क्रममा उनले भने, "संक्रमण भेटिएकाहरुलाई हामीले उपचारका लागि विभिन्‍न अस्पताल पठाएका छौं ।" 

चीनमा अहिलेसम्म २४ हजार तीन सयमा कोरोनाको संक्रमण भएको पाइएको छ भने ज्यान गुमाउनेको संख्या ४९० पुगेको छ । चीन बाहिर हङकङ र फिलिपिन्समा एक-एकजनाको मृत्यु भएको छ । 

उक्त पानीजहाजमा सवार सबैलाई १४ दिनका लागि क्‍वारेन्टाइनमा राखिएको छ ।