जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा काेराेनाकाे सङ्क्रमण देखियाे

जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा काेराेनाकाे सङ्क्रमण देखियाे

जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यसअघि जहाजमा यात्रा गरिरहेका १० जनामा कोरोनाको सङ्क्रमण देखिएपछि चालक दलका सदस्यसहित जहाजमा रहेका ३ हजार ७ सय जनालाई गएकाे बुधबारदेखि नै १४ दिने क्वारेन्टाइनमा राखिएको थियो ।

जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा कोरोनाको सङ्क्रमण देखिएसँगै जहाजमा रहेका ६१ जनामा कोरोनाकाे सङ्क्रमण भएको पुष्टि भएको बीबीसीले जनाएको छ । उनीहरुलाई अस्पताल लैजाने तयारी भएको छ ।

जहाजमा रहेका २८ जना जापानी, ११ जना अमेरिकी, अस्ट्रेलिया र क्यानाडाका सात–सात जना, चीन र हङकङका तीन–तीन जना, न्युजिल्याण्ड, ताइवान, फिलिपिन्स र अर्जेन्टिनाका एक–एक जनामा कोरोना भएको पाइएको हो ।

योसँगै जापान चीनपछि कोरोनाका बिरामी धेरै देखिने देश बनेको छ । जापानका ८६ जनामा कोरोना भएको पुष्टि भएको छ । वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा मात्रै ६ सय ३६ जनाको ज्यान गैसकेको छ भने ३१ हजार १ सय ६१ जनामा सङ्क्रमण भएको पाइएको छ ।

यस्तै चीन बाहिर २५ देशमा कोरोना सङ्क्रमित भेटिएकामा अहिलेसम्म फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गैसकेको छ ।