सुदूरपश्चिममा फोरजी सेवा विस्तार गरिँदै

सुदूरपश्चिममा फोरजी सेवा विस्तार गरिँदै

धनगढी : नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशमा फोरजी बिटिएर साइट सञ्चालनलाई तीब्रता दिएको छ । सुदूरपश्चिममा यस वर्ष ३ सय ८४ साइट सञ्चालनमा ल्याउने लक्ष्य लिएको टेलिकम सुदूरपश्चिम कार्यालयले दुई सय साइट अनएयर भइसकेको जनाएको छ ।

टेलिकमका वरिष्ठ इञ्जिनियर जगदीश लेखकले प्रदेशको नौवटै जिल्लामा फोर जी सेवा सुरु भइसकेको जनाए । उनका अनुसार कैलालीमा एक सय ४०, कञ्चनपुरमा ७४, डोटीमा २९, दार्चुलामा २६, डडेल्धुरामा २४, बाजुरामा १२, बझाङमा २०, बैतडीमा ३२ र अछाममा २७ बीटीएस साइट सञ्चालनमा ल्याउने बताए ।

उनले तीमध्ये २ सय साइट अनइयर भएको बताए ।टेलिकमले १६ औं वार्षिकोत्सव मनाउन धनगढी आयोजना गरेको कार्यक्रममा बरिष्ठ इन्जिनियर लेखकले प्रस्तुत गरेको तथ्यांकअनुसार सुदूरपश्चिममा टेलिकमको १९ लाख ६६ हजार १ सय ६८ ग्राहक छन् ।

ल्यान्ड लाइनको २४ हजार २१४, एडिएसएलका १२ हजार २२५, वाइम्याक्सका ५ सय ५४, एफटीटीएच सेवाका ७ सय ४६, प्रिपेड सीडीएमएका २ लाख ७६ हजार १७७, पोष्टपेड सीडीएमएका ५ हजार ९ सय ८९, प्रिपेड जीएसएमका १६ लाख ३५ हजार ५ सय ८८, पोस्टपेड जीएसएमका १० हजार ४ सय ८२ र लिजेड लाइनका १ सय ९३ ग्राहक रहको लेखकले जनाए ।

टेलिकमले उच्चस्तरको इन्टरनेट सेवा र भ्वाइस कल सेवा दिनका लागि घरसम्मै फाइबर विस्तार गर्ने कार्यक्रमलाई पनि तीव्रता दिएको छ । इन्टरनेट र भ्वाइस कल सेवा दिन कैलाली र कञ्चनपुरका मुख्य सहरहरूमा फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार भइरहेको लेखकले बताए ।

टेलिकमले वार्षिकोत्सवको अवसरमा लामो समयदेखि काम गरिरहेका कर्मचारीलाई दीर्घसेवा सम्मान पनि वितरण गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सम्मानित हुने टेलिकमका कर्मचारीलाई दोसल्ला र कदरपत्रका साथ सम्मान गरेका थिए ।