कञ्चनपुरमा अधिकारकर्मी शारदा चन्दसहित आठ जना पक्राउ

कञ्चनपुरमा अधिकारकर्मी शारदा चन्दसहित आठ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुर प्रहरीले महिला अधिकारकर्मी शारदा चन्दसहित आठ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेटबाट प्रहरीले उनीहरूलाई समातेको हो । एक महिनादेखि निर्मला हत्यापछिकाे आन्दोलनमा घाइते सुरेन्द्र देउवासहित केही घाइते प्रशासनको मुल गेटमा धर्नामा थिए । 

धर्नामा रहेका आन्दोलनकारीले प्रशासनको मुल गेटमा अवरोध पु-याएको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रण लिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले प्रशासन जस्तो संवेदनशिल कार्यालयको मुल गेटमा सेवाग्राहीलाई अवरोध गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।

उनका अनुसार अधिकारकर्मी आनन्दी राना, घाइते सुरेन्द्र देउवा, दिलीप विष्टका दाजु खड्क विष्ट, महिला तथा वृद्ध सेवा केन्द्रका कोषाध्यक्ष हीरा भट्ट, यशोदा बोहरा र वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिक देवु क्षत्री र जयन्ती विष्टलाई समेत पक्राउ गरिएको हो । महिला तथा वृद्ध सेवा केन्द्रमा बस्दै आएका दुवै ज्येष्ठ नागरिकलाई एकैछिनमा छाड्ने भए पनि अन्यको हकमा प्रहरीले माथिल्ला निकायको आदेशपछि मात्रै थाहा हुने जनाएको छ । 

प्रहरीले अधिकारकर्मी चन्दले आन्दोलनमा अन्य अधिकारकर्मी नआएपछि आफ्नै वृद्ध सेवा केन्द्रका वृद्धवृद्धालाई उठाएर ल्याएको बताएको छ । घाइतेको उपचार खर्चको माग अघि सारेर प्रशासनको मुल गेटमा बसेका उनीहरूले एआईजी धीरु बस्नेतको प्रतिवेदन कार्यान्वयनको माग अघि सारेका थिए ।