प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

धनगढी : सुदूरपश्चिम प्रदेशको वर्षे अधिवेशन सम्पन्न भएको छ । जेठ २ गतेबाट सुरु भएको वर्षे अधिवेशन ४७ दिनमा ५३ बैठक बस्दै मंगलवार सकिएको हो । 

उक्त समयमा संसद बैठक ६२ घण्टा ३२ मिनेट बसेको छ । मंगलवार सभामुख अर्जुन बहादुर थापाले संसदको वर्षे अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र सुनाउदै अधिवेशन अन्त्य भएको घोषणा गर्नुभयो ।

वर्षे अधिवेशनमा संसदले १५ ऐन कानुन निर्माण गरेको छ । स्थानीय तहका कानुन निर्माण, गाउ सभा र नगर सभा सञ्चालन सम्बन्धि कानुन, स्थानीय तह तथा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सम्बन्धि लगायतका १५ कानुन निर्माण गरिएको सभामुख अर्जुन बहादुर थापाले जानकारी दिनुभयो ।

कानुन निर्माणसगै प्रदेशको नाम र राजधानी तथा विषयगत समितिका सभापतिका निर्वाचन गराउनुलाई वर्षे अधिवेशनको महत्वपूर्ण उपलब्धि मानिएको छ । 

संसदले प्रदेशको नाम र राजधानी दुई तिहाई बहुमतका साथ पारित गरेको थियो भने विषयगत समितिका सभापति पनि निर्वारोध चयन गरेको थियो । 

वर्षे अधिवेशनको अन्त्य अघि नेकपाको तर्फबाट बौल्दै प्रमुख सचेतक तारालामा तामाङले वर्षे अधिवेशन महत्वपूर्ण र सफल रहेको दावी गर्नुभयो ।

कानुन निर्माणसगै प्रदेशको नाम र विषयगत समितिका सभापतिका निर्वाचन गराउनुलाई वर्षे अधिवेशनको महत्वपूर्ण उपलब्धि मानेको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रदेशको राजधानी तोकिएको विषयमा भने विरोध कायमै राखेको छ । 

काँग्रेसका संसदीय दलका नेता डा. रण बहादुर रावलले प्रदेशको राजधानी तोक्दा संसदीय मर्यादा विपरित तोकिएको भन्दै पुनःविचार गर्न पनि आग्रह गर्नुभयो । 

त्यस्तै, प्रदेश सरकारले संसदलाई विजनेस दिन नसकेको, प्रदेशमा शान्ति सुरक्षा कामय गर्न नसकेको, मुल्यवृदि नियन्त्रण गर्न नसकेको लगायतका आारोप लगाउदै प्रतिपक्षी दलले गल्तीलाई सुधारेर जान समेत सुझाव दिएको छ ।