सुदूरपश्चिम प्रदेशसभा : आठ जिल्लाबाट एकै साथ भिडियो कन्फरेन्स

सुदूरपश्चिम प्रदेशसभा : आठ जिल्लाबाट एकै साथ भिडियो कन्फरेन्स

धनगढी : सुदूरपश्चिम प्रदेशसभाले प्रदेशका कञ्चनपुरबाहेक आठ जिल्लाबाट एकै साथ भिडियो कन्फरेन्स गरेको छ । डिजिटल प्रविधि जडान गरेपछि आज सो भिडियो कन्फरेन्स गरेको हो ।

प्रदेश सभा सचिवालयको बैठक कक्षमा क्यामेरासहितको एलइडी मोनिटर, अडियो सिस्टम र २० एमबीपीएसको इन्टरनेट जडान गरिएको छ । आठ जिल्लाका प्रतिनिधिहरुसँग एक साथ परिचयात्मक कार्यक्रम गरी सभामुख अर्जुनबहादुर थापाले सो भिडियो कन्फरेन्स प्रविधि उद्घाटन गरे ।

भिडियो कन्फरेन्स उद्घाटनमा जिल्लाका समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु र टीकापुर नगरपालिकाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । भिडियो कन्फरेन्स हलमा आठ स्थानबाट एकै पटक भिडियो कनेक्ट गरी सबै ठाउँमा एकै किसिमका भिडियो देखिने र अडियो सुनिने व्यवस्था गरिएको थियो ।

सभामुख थापाले सो प्रविधिले प्रदेश सभाले सबै जिल्लासँग एक साथ गर्नुपर्ने छलफल आफ्नै हलमा बसेर सबैसँग गर्न सक्ने बताए । उनले प्रदेश सभा सदस्यहरु तथा समितिहरुले समेत स्थानीय जनतासँग समेत आफ्नै कार्य कक्षबाट सीधा संवाद गर्न सक्ने बताए ।

यसका साथै विपद्को बेलामा समेत सोही प्रविधिबाट छलफल गरी समस्या समाधानका लागि छलफल गरी निर्णय गर्न सकिने सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडीपी० को सहयोगमा भिडियो कन्फरेन्स हल स्थापना गरेको हो । प्रदेश सभा सचिवालयले युएनडीपीकै सहयोगमा प्रदेशसभाको गतिविधि युट्युवमा लाईभ गर्ने लगायतको डिजिटल प्रविधि प्रदेशसभामा जडान गरेको छ ।