डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने रंगुन नदीले बगाउँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा परशुराम नगरपालिका–४ रौटेखानका अन्दाजी २७ वर्षीय नरेश दमाइ रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।
सोमबार घरबाट माछा मार्न गएका नरेशलाई रंगुन नदीले बगाएको हो ।
मंगलबार माछा मार्ने व्यक्तिले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माछा मार्ने जालले बेरिएको अवस्थामा उनको शव नदीमा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिनुभयो ।
उनको शवलाई पोस्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।