धनगढी उपमहानगरपालिका मेयर कप फुटबल प्रतियोगिताको च्याम्पीयन

धनगढी उपमहानगरपालिका मेयर कप फुटबल प्रतियोगिताको च्याम्पीयन


कञ्चनपुरको पुनर्वासमा भएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ । पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ को शनिबार भएको फाईनल खेलमा सानदार जित दर्ता गर्दै धनगढी च्याम्पीयन बनेको हो ।

पुर्नवास नगरपालिका वडा नम्बर ३ स्थित ६५ विगाहको खेल मैदानमा शनिवार भएको उपाधि भिडन्तमा धनगढी उपमहानगरपालिकाले आयोजक पुर्नवास नगरपालिका निलोलाई उसैको घरेलु मैदानमा ५–२ को गोल अन्तरले हराएको हो । पहिलो हाफको १२ औं मिनेटमा धनगढीका लागि किरण वोहोराले गोल गर्दै धनगढीलाई अग्रता दिलाए ।

त्यसको चार मिनेटपछि पुर्नवासले पेनाल्टीको अवसर पायो तर गोल गर्न सकेन् । पहिलो हाफको १६ औं मिनेटमा पुर्नवासका सुदिप तामाङले हानेको पेनाल्टीलाई धनगढीका पारस खत्रीले बचाए । पहिलो हाफको ३६ औं मिनेटमा पुर्नवासका लागि विशाल वोहोराले गोल गर्दै खेल बराबरीमा पुराए । त्यो बराबरी एक मिनेटभन्दा वढी टिक्न सकेन् ।

पहिलो हाफको ३७ औं मिनेटमा धनगढीका भीम थापाले गोल गर्दै २–१ को स्थितिमा पुराए । पहिलो हाफको ४२ औं मिनेटमा धनगढीका लागि सुवाश रानाले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको ईन्जुरी समयको एक मिनेटमा फेरि धनगढीका लागि भीम थापाले व्यक्तीगत दोस्रो गोल गर्दै खेललाई ४–१ को अवस्थामा पुराए । 

पुर्नवास नगरपालिकाले दोस्रो हाफको ६ मिनेटमा गोल गर्दै खेललाई ४–२ को अवस्थामा पुरायो । पुर्नवासका लागि विशाल वोहोराले व्यक्तीगत दोस्रो गोल थपे । दोस्रो हाफको ४२ औं मिनेटमा धनगढीका लागि कप्तान कुवेर सिंहले गोल गर्दै धनगढीलाई ५–२ को सानदार जितसगै च्याम्पीयन बनाए । खेलमा धनगढीका विवेक सन्जेल म्यान अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे । 
माघ २५ गतेदखि सुरु भएको प्रतियोगिता शनिवार सकिएको छ । प्रतियोगिताको विजेता बनेको धनगढी उपमहानगरपालिकाले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेता भएको आयोजक पुर्नवास नगरपालिका निलोले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाएको छ । प्रतियोगिताको वेष्ट प्लेयर धनगढी उपमहानगरपालिकाका विवेक सन्जेल भए ।

उनले नगद दश हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बेस्ट स्कोरर वेलौरी नगरपालिकाका दिपेन्द्र शाही भए । उनले नगद सात हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बेष्ट किपर धनगढी उपमहानगरपालिकाका पारस खत्री, राइजिङ प्लेयर पुर्नवास निलोका सुदिप तामाङ र बेष्ट डिफेन्स पुर्नवास निलोका साहिल तामाङ भए ।

उनीहरुले नगद पाँच हजार÷पाँच हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । पुर्नवास नगरपालिका मेयर जीवनराज थापाको अध्यक्षमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहनुभएको थियो भने विशिष्ठ अतिथि धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओड रहनु भएको थियो ।

समापन कार्यक्रमको सञ्चालन पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले गर्नुभएको थियो । 

प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका थिए ।  सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगिताका संयोजक खडक विक्रम थापाले जानकारी दिनुभयो ।