बझाङ : दश वर्षपछि बझाङमा घटस्थापनाकै दिन नेपाल एयरलाइन्सले परिक्षण उडान गरेको छ । १७ सिट क्षमताको नेपाल एयरलाइन्सको नाईन एन एकेयु कल साइनको ट्वीअटरले आज दिउसो पौने १ बजे बझाङको देवल विमानस्थलमा अवतरण गरेको हो ।
दुई जना चालक दलका सदस्यसहित ६ जना बोकेर १२ बजेर २४ मा नेपालगञ्जबाट उडेको उक्त जहाज २१ मिनेट लगाएर १२ बजेर ४५ मिनेटमा बझाङ अवतरण भएको थियो ।
विमानस्थलमा चालक दलका सदस्य नुरी शेर्पा र महेशराज पाण्डेयलाई बझाङबासीले भव्य स्वागत गरेका छन् । झण्डै १० वर्षपछि देवल विमानस्थलमा जहाज देख्न पाउँदा बझाङबासीमा खुसीयाली छाएको छ ।
यो परिक्षण उडान भएकाले यसबाट नियमित उडान हुने नहुने यकिन गर्न नसकिने सांसद आशा बिकले बताउनुभयो ।
उहाले पटक–पटक संसदमा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेटेर बझाङमा जहाजको अपरिहार्यता रहेको बोध गराउनुभएको थियोे ।
बझाङमा यातायातको व्यवस्था भएपनि सडकको दुराअवस्था हुँदा यात्रुहरुले निकै समस्या झेल्दै आएका छन् ।
बझाङमा नियमित उडान भर्न रिपोर्ट तयार हुने र रिपोर्टले सहज–असहज र यात्रुको माग अनुसार उडान भरिने भएको छ ।
यदि यो अवस्थामा उडान सम्भव नभए धावनमार्ग कालोपत्रे गरेर मात्र नियमित उडान भरिने नागरिक उड्यन मन्त्रालयले जनाएको छ । धावनमार्ग कालेपत्रेका लागि ठेक्का सम्झौता भइसकेको छ