धनुषा : गएको पाँचवर्षदेखि निर्माणको चरणमा रहेको नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल बुधबार जनकपुर आइपुगेको छ ।
पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म निर्माण सम्पन्न हुन लागेको ३५ किलो मिटर रेल्वे लिक परीक्षणको क्रममा रेल्वे पुरानो स्टेशन जनकपुर आइपुगेको हो ।
यससँगै रेल्वेको २९ किलो मिटर लिक परीक्षण भएको छ भने अब मात्र ६ किलो मिटर लिक परीक्षण बाँकी रहेको छ । अबको १० दिनभित्र ६ किलो मिटर लिक परीक्षण गरेर रेल्वे कुर्था स्टेशन पुगेपछि लिक परीक्षण्को काम सम्पन्न हुने नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले बताउनुभयो ।
लिक परीक्षको क्रममा एकसाता अघि रेल्वे जनकपुर उपमहानगरपालिका १७ कनकपट्टी प्रवेश गरेको थियो । भारतको झारखण्डबाट ब्लास्ट रेल्वे लिकमा प्रयोग हुने कालो गिट्टी सहित रेल जनकपुर आइपुगेको छ । ५३ र्याक सहित रेल जनकपुर आइपुगेको हो ।
प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालबाहक रेलको र्याकमा लोड गरिएको ब्लास्ट मजदुरहरुले लिकमा झार्दै आएका थिए । भारत सरकारको सहयोगमा निर्माण सम्पन्न हुने लागेको ब्रोडगेज रेल्वे निर्माणधीन अवस्थामा रहेको लिकबाट पहिलो पटक ५३ र्याकसहितको रेल्वे जनकपुर आएको हो । साभार : उज्यालाे अनलाइन