निर्मला पन्त हत्या प्रकरण : एआईजी धिरु बस्नेतको छानबिन समिति पहिलो पटक पुग्यो कञ्चनपुर

निर्मला पन्त हत्या प्रकरण : एआईजी धिरु बस्नेतको छानबिन समिति पहिलो पटक  पुग्यो कञ्चनपुर

कञ्चनपुर : निर्मला पन्तको बलात्कार पछि भएको हत्याको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक कञ्चनपुर पुगेको छ । 

निर्मलाको घटनाको अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गर्न भूमिका खेलेको देखिएपछि प्रहरीमाथि नै अनुसन्धान तथा छानविन गरिरहेको एआईजी बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक शुक्रबार कञ्चनपुर पुगेको हो । 

स्थानीयले अनुसन्धानमा प्रहरीको भूमीका माथि नै शंका गरेपछि यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमी कमजोरीको समेत छानविन थालेको छ । 

बस्नेत नेतृत्वको छानविन समितिले निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाएर यसअघि नै अनुसन्धान गरिसकेको छ ।

समितिले शुक्रबार घटनास्थल, पीडित परिवारसँग भेटघाट गर्ने र शनिबार जिल्लास्थित अन्य सरोकारवालासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । 

घटनाको छानविनका लागि नेपाल प्रहरीले गएको भदौ ३१ गते एआईजी बस्नेतको नेतृत्वमा चार सदस्य छानविन समिति गठन गरेको थियो । साभार ; उज्यालाे अनलाइन