सरकारको निर्णय विरुद्ध ७ नम्बर प्रदेशका यातायात व्यावसायीहरु आन्दोलनमा

सरकारको निर्णय विरुद्ध  ७ नम्बर प्रदेशका यातायात व्यावसायीहरु आन्दोलनमा

धनगढी १७ बैशाख । सिण्डिकेट हटाउन सरकारले चालेको कदम विरुद्ध ७ नम्बर प्रदेशका यातायात व्यावसायीहरु चरणवद्ध आन्दोलनमा उत्रिएका छन् । हचुवाका भरमा सिण्डिकेट हटाउने वहानामा वस व्यावसायि माथि राज्यले अन्याय गरेको भन्दै यसक्षेत्रका व्यावसायि आन्दोलनमा उत्रिएका हुन् । उनिहरुले आज दिउसो एक घण्टा सेती अञ्चल यातायात कार्यालयमा घेराउ गर्दै सरकारले चालेको कदमको बिरोध जनाए । सरकारले निर्णय फिर्ता नलिए आगामी २० गते यातायातका सवारी साधन संचालन नगर्ने, त्यति गर्दा पनि नभए २६ गते वाट अनिश्चितकालीन यातायात वन्द गर्ने सुदूरपश्चिम यातायात व्यावसायि समितीका अध्यक्ष पदम सापकोटाले बताउनुभयो । 

सार्वजनिक यातायात सेवाका नाममा यात्रु ठगिने र यस क्षेत्रबाट हुनुपर्ने राजश्व संकलन पनि नभएपछि भाडाका सवारी साधनमा सरकारले विशेष कडाइ गरेको हो । सरकारले जारी गरेको निर्देशन नमान्ने भनेर ब्यवसायी आन्दोलनमा उत्रिरहदा यातायात मजदुर संगठन भने दुइ भागमा विभाजित भएका छन् । एमाले र माओवादी निकट मजदुर संगठन अन्दोलनको विपक्षमा छन भने कांग्रेस निकट संघ आन्दोलनमा सहभागी छन् । नेपाल यातायात मजदुर संगठनका केन्द्रिय सचिब जित बहादुर मल्ल व्यावसायिको आन्दोलमा आफुहरुको समर्थन नरहेको बताउनु हुन्छ । तर, काग्रेस निकट यातायात मजदुर संघका केन्द्रिय सदस्य लब शाहीले भने सरकारले निर्णयका बिरुद्ध आफहरु आन्दोलनमा उत्रिएको बताउनु भयो । 

हाल सम्म कैलालीमा गोदावरी यातायात प्रा.ली., फुलबारी यातायात प्रा.ली. र बढिमालिका यातायात प्रा.ली. काम्पनि रजिष्टारको कार्यालयमा दर्ता भएका छन् । करको दायरा भित्र रहेका ती यातायात प्रालि अहिलेको आन्दोलनमा सरिक छैनन् ।  सिण्डिकेट विरुद्ध कडा कदम चालिरहेको सरकारले समिति भंग गरेर जरै देखि सिण्डिकेट उखेल्ने नीति लिएको छ । सरकारको यो कदमले सिण्डिकेटको नाममा भइरहेको मनपरितन्त्र रोकिने अपेक्षा गरिएको छ ।