नेकपा सचेतक रावल बिरुद्धको मुद्धामा बहस जारी, अनुसन्धानका लागी चार दिन हिरासतमै राख्न जिल्ला अदालत कैलालीको आदेश

नेकपा सचेतक रावल बिरुद्धको मुद्धामा बहस जारी, अनुसन्धानका लागी चार दिन हिरासतमै राख्न जिल्ला अदालत कैलालीको आदेश

 

बलात्कार प्रयासको आरोप लागेका प्रदेशसभा सदस्य अक्कल रावललाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ । रावल बिरुद्ध बलात्कार प्रयास गरेको उजुरी परेपछि बुधबार प्रहरीले उनलाई हिरासतमा राखेको थियो ।

बिहिबार कैलाली अदालतमा भएको बहसपछि उनलाई अनुसन्धानका लागी हिरासतमै राख्न अदालतले अनुमती दिएको हो । जिल्ला अदालत कैलालीका न्यायधिस कृष्ण प्रसाद नेपालको इजलासमा भएको बहसपछि उनलाई हिरासतमा राख्न अनुमती दिएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार रैभान कुन्जेडाले बताए । २१ गतेदेखी लागु हुने गरी रावललाई ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेशसभा सदस्य रावल एक महिलामाथि बलात्कारको दुस्प्रयास गरेको आरोपमा बुधवार पक्राउ परेका थिए । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक बिबाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन् । प्रदेश सभाका सदस्य रावलका बिरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो । जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणीको दुस्प्रयास गरेको आरोप लगाएकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले रावल पक्राउ गरेको स्वीकार गरे । रावल आफ्ना बिरुद्ध उजुरी परेपछि सोका बारेमा बुझ्न बुधवार आफै जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको बताईएको छ । महिलाको उजुरीपछि पक्राउ पूर्जी जारी गरेको प्रहरीले रावललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी बस्नेतले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले रावलमाथि जवरजस्तीकरणी उद्योगमा मुद्धा दर्ता भएको बताए । उक्त मुद्धामा आरोप पुष्टि भए ५ बर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको उनले बताए । उक्त मुद्धामा साढे तीन बर्षदेखि ५ बर्षसम्म कैद सजायको व्यवस्था रहेको छ ।

रावल अछाम क्षेत्र नम्बर २ को ख बाट निर्वाचित नेकपाका सांसद हुन् । बलात्कार प्रयासको आरोप लगाउने महिलाले भान्जीको नाता लगाएर नेकपा सुदूरपश्चिमका सासंद रावलले दुस्प्रयास गरेको बताएकी छिन् । पीडित महिलाले माघ २१ गते कोठामै आएर रावलले जवरजस्तीकरणी गर्न खोजेको आरोप लगाएकी हुन् ।

यस अघी नेकपाबाट निर्वाचित सांसद तथा सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री दीर्घ सोडारी महिलासंगको अनैतिक सम्बन्धका कारण मन्त्रीबाट बर्खास्त गरिएका थिए ।