कोरोना संक्रमणको खतराले फेसबूकको कार्यालय बन्द, ३ हजार कर्मचारी घर फिर्ता

कोरोना संक्रमणको खतराले फेसबूकको कार्यालय बन्द, ३ हजार कर्मचारी घर फिर्ता

कोरोना भाइरसको संक्रमण संसारभर फैलिँदै जाँदा सामाजिक सञ्जाल फेसबूकको कार्यालयसम्म त्यसको असर पुगेको छ । फेसबूकले आफ्ना ३ वटा कार्यालय बन्द गर्दै कर्मचारीलाई घर फिर्ता गरेको छ । कर्मचारीले अफिस नआई घरबाटै काम गर्नसक्ने सुविधा फेसबूकले दिएको छ ।

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ भने ३ हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । द इन्डिपेन्डेन्ट पत्रिकाका अनुसार फेसबूकका एक कर्मचारी सिंगापुरबाट लन्डनको फ्रिटजोविया कार्यालयमा आएका थिए ।

उनी २४–२६ फेब्रुअरीसम्म कार्यालयमा रहेका थिए । पछि उनी कोरोना संक्रमित भएको खुलेको थियो । त्यसैले फेसबूकले लन्डनस्थित कार्यालय बन्द गरेको छ ।डेली मिरर वेबसाइटका अनुसार फेसबूकका लन्डनस्थित सबै कार्यालय सोमवारसम्मका लागि बन्द गरिएका छन् । त्यतिबेलासम्म फेसबूकका सबै ३ हजार कर्मचारी घरबाटै काम गर्नेछन् ।

फेसबूकले सबै कर्मचारीलाई घरैबाट काम गर्न र कोरोनाको लक्षण देखिए तत्काल प्रशासनमा सूचना दिन निर्देशन दिएको छ । स्काइ न्युजका अनुसार सिंगापुरबाट आएका ती संक्रमित कर्मचारीको सम्पर्कमा आएका लन्डनका सबै कर्मचारीमाथि फेसबूकले निगरानी राखेको समेत जनाइएको छ ।

ती संक्रमित कर्मचारीको सम्पर्कमा पुगेका व्यक्तिलाई स्वास्थ्य जाँच गराउन र अरुको सम्पर्कमा नजान समेत निर्देशन दिइएको छ ।बिदा गरिएको अवधिमा फेसबूकले कार्यालयमा सफाइ गर्ने जनाएको छ । कार्यालयमा सफाइ गरेर कोरोना संक्रमणको खतरा हटेपछि मात्रै कार्यालय सञ्चालनमा ल्याइनेछ ।