मोबाइलको लापरबाहीपूर्ण प्रयोगले अनुहारमा बढी चोटपटक

मोबाइलको लापरबाहीपूर्ण प्रयोगले अनुहारमा बढी चोटपटक

मोबाइल फोनसँग सम्बन्धित अनुहारमा चोटपटकका घटना पछिल्लो समय व्यापक बनेको बिहिबार प्रकाशित रिपोर्टले उल्लेख गरेको छ । मोबाइल फोन प्रयोग गर्दा लापरबाही गरिएकाले नै काटिने, ठोक्किने र हड्डीहरु भाँच्चिनेसम्मका घटना भइरहेको बताइएको छ । 

फेसियल प्लाष्टिक सर्जनहरुले गरेको यस अनुसन्धानमा विभिन्न प्रकारले मानिसहरु मोबाइलबाट घाइते भइरहेको पाइएको हो । जस्तै प्रायः मानिसहरु सुतेर फोन चलाउँदै गर्दा मोबाइल अनुहारमा खसेर नाक भाँच्चिने र घाउ हुने गरेको छ । यस किसिमका घटना २००६ देखि सुरु भएको हो जसबेला पहिलो स्मार्टफोनको बाहिरिएको थियो ।

यसरी २० वर्षदेखिका डाटाहरु अध्ययन गर्ने क्रममा उनीहरुले यस प्रकारका घटना लगातार वृद्धि हुने क्रम जारी रहेको पाएका हुन् । यसमा कतिपय अवस्थामा झगडा हुँदा मानिसहरुले एकअर्कामाथि मोबाइल फोन फाल्नाले पनि घाइते हुने गरेको पत्ता लागेको छ । त्यसैले फोन चलाउँदै हिँड्दा सडक दुर्घटनामा पर्ने , पिलरसँग ठोकिएर मुखका विभिन्न भाग भाँचिने, चोटपटक लाग्ने जस्ता घटना बढेका हुन् । 

यसमा धेरै अवस्थामा पीडितहरु अस्पताल भर्ना नहुने गरेको पनि पाइएको हो । यस्तोमा सामान्य ठोक्किने, घाउ हुने क्रम पछिल्लो समय विश्वव्यापी रुपमा वृद्धि भइरहेको छ । जसकारण दुर्घटनाहरुको सङ्ख्या अनुमानित भन्दा अझ बढी हुन सक्ने बताइएको छ ।

प्रविधिको विकाससँगै फोनको आकार ठूलो हुँदै गएको छ भने मानिसले सुत्दा, उठ्दा हिँड्दा खाँदा हरेक क्षण मोबाइल हेर्ने गरेका छन् । तरपनि यी समस्यालाई गम्भीर रुपमा नलिइनु नै अहिलेको सबैभन्दा ठूलो समस्या रहेको बताइएको छ । 

टाउकोमा मात्र नभएर मोबाइल फोनले घाँटीमा र आँखामा पनि नोक्सान पुर्याइरहेको पाइएको छ । अमेरिकामा मात्र २०१७ मा देशभरबाट ७६ हजार मोबाइल फोन सम्बन्धी चोटपटकका घटना फेला पारिएको थियो । तर २००६ भन्दा अगाडि सम्म यस किसिमका घटना वार्षिक २ हजारका सङ्ख्यामा मात्र हुने गरेका थिए ।

यसरी दुर्घटनामा पर्नेमध्ये ४० प्रतिशत १३ देखि २९ वर्ष उमेरको हुने गरेको पाइएको हो । जसमध्ये अधिकांश हिँड्दै टेक्स्ट गर्दै, वा मोबाइल प्रयोग गर्दै गाडी चलाउने गर्दा घाइते भएको पाइएको हो ।त्यसैगरी धेरै फोन चलाएर, विशेषगरी गेम खेलेर हात र घाँटी मड्किने, नसामा समस्या आउने गरेको पनि पाइएको हो । 

यसरी मानिसहरुले ध्यानपूर्वक फोन चलाएमा यस प्रकारका सबै दुर्घटनाबाट सजिलै बच्न सकिने अध्ययनकर्ताहरुको निष्कर्ष छ । यसका लागि मानिसले ‘कमन सेस्स’ प्रयोग गर्नुपर्ने एक फोनप्रेमीले बताएका हुन् ।