रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव

रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव

काठमान्डाैं : नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ ।

पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् ।

मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । 

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा गङ्गा सापकोटा पोलेको मासुले आमाशयमा क्यान्सरको जोखिम बढी हुने बताउनुहुन्छ ।

अन्य खानाको तुलनामा यस्ता खानेकुराबाट दुई गुणा बढी क्यान्सरको जोखिम हुने उहाँको भनाइ छ । 

मुख्यरुपमा पोलेका, तारेका, रसायनको प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गरी दीर्घकालीनरुपमा मानिसमा क्यान्सर हुने सम्भाबना हुन्छ ।

रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउदा कार्सिनोजेनिक तत्व उत्पादन हुने र यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने हुँदा यस्ता मासु नखान उहाँले सुझाव दिनुभयो ।