बहराइनमा तीन नेपालीलाई कोरोना संक्रमण

बहराइनमा तीन नेपालीलाई कोरोना संक्रमण

विश्वका १८३ देशमा फैलिएको कोराना भाइरस (कोभिड–१९) बाट तीन नेपाली संक्रमित भएका छन्। वैदेशिक रोजगारीका लागि बहराइन पुगेका नेपालीमा संक्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

‘बहराइन सरकारले तीन जना नेपालीमा कोरोना संक्रमण भएको र उनीहरुको उपचार भइरहेको जानकारी दिएको छ’, बहराइनस्थित नेपाली दूतावास स्रोतले भन्यो, ‘हामी विस्तृतमा सोधखोज गरिरहेका छौं। केही समयपछि विस्तृत विवरण आउनेछ।’ बहरानमा हाल करिब ३५ हजार नेपाली कार्यरत छन्। उनीहरु अधिकांश वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका हुन्।

बहराइन जान भनेर हिँडेका ३० नेपालीलाई यसअघि युएईले नेपाल फर्काइदिएको थियो। युएईमा दुई जना नेपालीलाई कोरोना संक्रमण देखिएको केही समयपछि उनीहरु फर्काइएका थिए। यसअघि अष्ट्रेलिया र पोर्चुगलमा पनि एक–एक जना नेपालीलाई कोरोना संक्रमण देखिएको छ। -नेपाल खबर बाट

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार बहराइनमा हालसम्म ३०१ जना कोरोना भाइरस संक्रमित देखिएका छन्। संक्रमणबाट एक जनाको मृत्यु भएको छ।