अर्थमन्त्रालय मातहतका विभिन्न निकायले कोरोना भाइरस रोकथाम, नियन्त्रण कोषमा करिब २१ करोड रुपैयाँ सहयोग

अर्थमन्त्रालय मातहतका विभिन्न निकायले कोरोना भाइरस रोकथाम, नियन्त्रण कोषमा करिब २१ करोड रुपैयाँ सहयोग

अर्थमन्त्रालय मातहतका विभिन्न निकायले सरकारले घोषणा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा करिब २१ करोड रुपैयाँ सहयोग गरेका छन् ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म अर्थ मन्त्रालय मातहतका निकायबाट २० करोड ९७ लाख रुपैयाँ जम्मा भएको हो । यसबाहेक विभिन्न २० वटा बैंकबाट २२ करोड रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयको भनाइ छ ।

कोरोना कोषमा नेपाल धितोपत्र बोर्डले ३ करोड रुपैयाँ सहयोग गरेको छ । कर्जा तथा निक्षेप सुरक्षण कोषबाट ३ करोड रुपैयाँ प्राप्त भएको छ । नेपाल स्टक एक्सचेन्जले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । सिडीएस कम्पनीबाट ३५ लाख रुपैयाँ प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २ करोड रुपैयाँ सहयोग गरेको छ ।

राष्ट्रिय बीमा संस्थानबाट १ करोड रुपैयाँ प्राप्त भएको छ । नेपाल पुनर्बीमा कम्पनीबाट १ करोड ११ लाख रुपैयाँ प्राप्त भएको छ । नागरिक लगानी कोषले २ करोड रुपैयाँ सहयोग गरेको छ । कर्मचारी संचय कोषबाट ५ करोड रुपैयाँ प्राप्त भएको छ । विभिन्न २० बैंकबाट २२ करोड रुपैयाँ योगदान भएको अर्थमन्त्रालयले जनाएको छ ।