चीनको शेन्जेन शहरमा कुकुर र बिरालोको मासु खान रोक

चीनको शेन्जेन शहरमा कुकुर र बिरालोको मासु खान रोक

चीनको शेन्जेन शहरमा कुकुर र बिरालोको मासु खान रोक लगाइएको छ । यस्तो प्रतिबन्ध लागू गर्ने चीनको यो पहिलो शहर हो । ।

यो निर्णय कोरोनाभाइरस महामारीका कारण उठाइएको हो । जंगली जनावरमार्फत् कोरोनाभाइरस मानिसमा सरेको भन्ने अनुमानका बीच चीन सरकारले जंगली जनावरको मासु खान प्रतिबन्ध लगाएको थियो । तर शेन्जेनले एक कदम अगाडि बढ्दै कुकुर र बिरालोको मासु खान पनि प्रतिबन्ध लगाएको छ ।

ह्युमन सोसाइटी इन्टरनेशनल नामको संस्था अनुसार एशियाली देशमा हरेक वर्ष ३ करोड कुकुरको मासुका लागि हत्या गरिन्छ ।

यद्यपि, चीनमा बिरालोको मासु खानु सामान्य होइन । त्यहाँका धेरैजसो मानिसहरुले न त बिरालोको मासु खाएका छन् न खान नै चाहन्छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार शेन्जेन सरकारले भन्यो, ‘कुकुर र बिरालो घर पालुवा जनावरको रुपमा मानिससँग निकै नजिक छन् र घरपालुवा जनावरको मासुमाथि विकसित देशलगायत हङ्गकङ र ताइवानमा प्रतिबन्ध लगाइन्छ । यो प्रतिबन्ध मानव सभ्यता अनुकुल छ ।’

जनावरको हितका लागि काम गर्ने संस्था ह्यूमन सोसाइटी इन्टरनेशनलले यो कदमको स्वागत गरेको छ ।

संस्थाका विशेषज्ञ डाक्टर पिटर लीले भने, ‘यो निर्णय त्यो बर्बर व्यापारमाथि रोक लगाउने दिशामा एउटा ऐतिहासिक कदम साबित हुनेछ जसमा चीनमा हरेक वर्ष एक करोड कुकुर र ४० लाख बिरालोको हत्या गरिन्छ ।’