क्षयरोगको खोप अनिवार्य भएका मुलुकमा कोरोनाको मृत्युदर कम

क्षयरोगको खोप अनिवार्य भएका मुलुकमा कोरोनाको मृत्युदर कम

क्षयरोगको खोप अनिवार्य गरिएका मुलुकमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या पनि तुलनात्मक रुपमा कम रहेको एक अध्ययनले देखाएको छ । प्रकाशित नभएका मेडिकल रिसर्चको साइट मेडआरएक्सआईभीका अनुसार क्षयरोगका लागि बीसीजी खोप दिइने मुलुकमा कोभिड-१९ का संक्रमित र मृतकको संख्या पनि कम देखिएको हो ।

द साउथ चाइना मर्निङ पोष्टका अनुसार, अहिले यो परीक्षण केवल छ मुलुकमा मात्र गरिएको छ । तर, छ मुलुकमा गरिएको यो अनुसन्धानले पनि महत्वपूर्ण नतिजा भने दिएको छ । यी मुलुकमा बीसीजी खोप दिएका स्वास्थ्यकर्मी र वृद्ध मानिसमा पनि कोभिड-१९ विरुद्धको प्रतिरक्षा प्रणाली एकै किसिमको पाइएको थियो ।


न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक गोन्जालो ओटाजुले जापानमा मृतकको संख्या कम देखिएसँगै यस विषयमा आफ्नो शोध सुरु गरेका थिए । चीनपछि सबैभन्दा पहिला जापानमा यो भाइरसको संक्रमण देखिएको थियो ।

साथै जापानले अन्य मुलुकले जस्तो लकडाउनलगायतका निर्णय पनि गरेको छैन । जापानमा वृद्ध मानिसहरुको संख्या पनि उल्लेख्य छ । कोभिड-१९ को असर धेरै वृद्ध मानिसमा हुने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

ओटाजु आफूलाई यसअघि नै बीसीजी खोपले केवल क्षयरोगको ब्याक्टेरिया मात्र नभई अन्य संक्रामक रोगका जीवाणुलाई पनि रोक्ने क्षमता बढाउने आफूलाई थाहा भएको बताउँछन् ।

यससँगै उनको टोलीले अनिवार्य क्षयरोगको खोप भएका र केही स्थानमा मात्र यो खोप लगाइने मुलुकको तथ्यांक संकलन गरेको थियो । यसरी संकलन गरिएको तथ्यांक उनीहरुले गरेको शोधमा निकै मेल खायो ।

अमेरिका र इटालीजस्ता उच्च आम्दानी भएका मुलुकहरुमा अहिले धेरै कोभिड-१९ का बिरामी देखिएका छन् । यी मुलुकमा बीसीजीको खोप जोखिममा रहेका मानिसलाई मात्र अनिवार्य गरिएको छ ।

जब कि, जर्मनी, स्पेन, फ्रान्स, इरान र बेलायतमा बीसीजी खोप अनिवार्य गर्ने नीति थियो । तर, यो चार दशकभन्दा पहिला नै रोकिएको थियो । यो भाइरसको सुरुवात भएको चीनमा पनि बीसीजी खोपको व्यवस्था छ । 

दक्षिण कोरिया र जापानजस्ता बीसीजी खोप अनिवार्य भएका मुलुक अहिले कोभिड-१९ नियन्त्रणमा सफल देखिएका छन् । कम आम्दानी भएका मुलुकको तथ्यांक भने यस किसिमको अनुसन्धानको लागि त्यति विश्वसनीय मानिँदैन ।

अहिले यो भाइरसका कारण संक्रमितको संख्या १० लाख नाघिसकेको छ भने अहिलेसम्म यसबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघिसकेको छ ।

यस्तोमा विश्वभरका मुलुकहरु यो भाइरसबाट पार पाउन संघर्ष गरिरहेका छन् । कुनै पनि रोगको खोप एक वर्षभन्दा अगाडि उपलब्ध हुन निकै कठिन हुन्छ । यसको लागि आवश्यक प्रक्रिया र मापदण्डको कारण यो समय निकै कम हुन जान्छ ।

यो कारणले पनि बीसीजी खोपले कोभिड-१९ रोक्न सक्छ कि भनेर हेर्नु तर्क संगत हुने युनिभर्सिटी अफ टोरोन्टोका इलोनोर फिस बताउँछन्। ओटोजुको अनुसन्धानलाई पुनरावलोकनको काम भइरहेको छ । फिसले आफूले यो नतिजा निकै ध्यान दिएर हेरेको बताउनुभयो ।