कोरोनाबारे गलत हल्ला फैलाउने कञ्चनपुरका एक युवक पक्राउ

कोरोनाबारे गलत हल्ला फैलाउने कञ्चनपुरका एक युवक पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा कोरोना भाइरस (कोभिड १९)बारे अफवाह फैलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जाल फेसबुकमा गलत हल्ला फैलाउने अन्दाजी २४ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो।

भ्रम फैलाउने बेलडाँडी गाउँपालिकाका गोपाल सुनारलाई शुक्रबार बेलुका घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर)का डीएसपी रविन्द्र पौडेलले बताए।

सुनारले शुक्रबार बिहान फेसबुकमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ भनेर लेखेका थिए। सुनार १६ दिन अघि मात्रै भारतबाट नेपाल आएका थिए।