कोरोना रोकथाममा प्रभावकारी कदम चालेको भन्दै सरकारलाई राष्ट्रपति भण्डारीको धन्यवाद

कोरोना रोकथाममा प्रभावकारी कदम चालेको भन्दै सरकारलाई राष्ट्रपति भण्डारीको धन्यवाद

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रभावकारी कदम चालेकै कारण नेपालमा कोरोनाको सङ्क्रमण भयावह नभएको बताउनुभएको छ ।

देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले अहिले गरिरकेको गृहकार्यलाई विश्वले प्रशंसा गरिरहेको पनि बताउनुभयो । उहाँले सरकारले घोषणा गरेको लकडाउनमना सक्दो सहयोग गर्न र घरभित्रै बसिदिन आग्रह गर्नुभयो ।

आफ्नै घरमा बसेर व्यक्ति व्यक्तिबीचको दूरी कायम गरे कोरोनासँग लड्न सकिने र संक्रमण फैलिएर भयावह अवस्था आउन नपाउने उहाँको भनाइ थियो ।

यस्तै लकडाउनको समयमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरु अलि धेरै प्रभावित भैरहेको भन्दै त्यस्ता वर्गका लागि सरकारले विभिन्न राहत प्याकेजको घोषणा गरेको उहाँले बताउनुभयो । कोरोना भाइरसले निम्त्याएको लकडाउनले नेपालको मात्रै नभइ विश्वकै अर्थतन्त्रमा प्रभाव परेको भन्दै उहाँले लकडाउनको यो परिस्थितिपछि सरकारले आवश्यक कदम अघि बढाउने दावी गर्नुभयो ।

उहाँले विभिन्न देशमा रहेका नेपालीलाई जहाँ जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा सुरक्षित भएर बस्न पनि आग्रह गर्नुभयो । यस्तै नेपाललाई विभिन्न देशले प्रदान गरेको सहयोग र देखाएको तत्परताप्रति पनि उहाँले धन्यवाद दिनुभयो ।

सङ्क्रमित बिरामीको उपचारका लागि सरकार पुरै तयारी अवस्थामा रहेको भन्दै उहाँले अहोरात्र खटिरहने सबै निकायलाई धन्यवाद दिनुभएको छ । डाक्टर, नर्स र समग्र स्वास्थ्यकर्मीको धैर्यताको उच्च सम्मान गर्दै उहाँले यो लडाईमा मानव जातीले छिट्टै जित्ने बताउनुभयो ।

यो परिस्थितिमा राजनीतिक दल, उद्योग, व्यापारी, स्वायंसेवी लगायत संस्थाहरुलाई आफूले सकेको सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।।