जैविक महामारी “कोरोना”को मिलेर सामना गरौं

जैविक महामारी “कोरोना”को मिलेर सामना गरौं

गत डिसेम्बर सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरबाट शुरु भई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वका २०५ मुलुकमा फैलिएको छ । अहिलेसम्म ६० हजार बढी मानिसको ज्यान लिइसकेको छ भने ११ लाख ३३ हजारभन्दा बढी संक्रमित भएको अवस्था छ ।
अर्थतन्त्र र समृद्धिको हिसाबले सगर चुमेका युरोप, अमेरिका, स्पेन, इटाली जस्ता मुलुकहरु कोरोना भाइरसका अगाडी निरीह बनेका छन् । संयोग नै हुनसक्छ प्रत्येक १०० वर्षमा यस्ता अकल्पनीय माहामारीले संसारलाई त्रस्त बनाएको देखिन्छ । चाहे त्यो सन् १७२० मा डेढ लाख बढीको ज्यान लिनेगरी फैलिएको प्लेग रोग होस् वा सन् १८१८ मा एशियाली मुलुकहरुमा फैलिएको कोलेराको महामारी नै किन नहोस् । सन् १९२० मा डरलाग्दो गरी करिव २ बर्षसम्म प्लेग रोगका सिकार हुनेको संख्या त २ देखि ५ करोड पुगेका समाचार छन् । प्राकृतिक विपदका अन्य प्रकोप र त्यसले निम्त्याउने क्षतिको तुलनामा यो जैविक महामारी अत्यन्तै खतरनाक छ । हुन त यी शताब्दीका बिचमा पनि विभिन्न प्रकारका महामारीजन्य प्रकोप फैलिएका छन् । विभिन्न प्रकारका फ्लु, प्लेग, डेंगु, इबोला लगायत संक्रमण त हामीले सुनेका, देखेका समाचार बनेका छन् ।

स्वास्थ्य सम्बन्धी पुर्वाधार, चिकित्सकीय सेवा, रोग र उपचारमा उल्लेख्य अनुसन्धान गरेका संयुक्त राज्य अमेरिकामा यो आलेख तयार गर्दैगर्दा २,७७,६०७ संक्रमित छन् । मृत्यु हुनेको संख्या ७,४०६ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या १२२८३ छ । यसमध्ये न्युयोर्क स्टेटको मात्र तथ्यांक हेर्ने हो भने भयावह ढंगले वृद्धि भैरहेको छ । आजको मितिसम्मका जम्मा संक्रमित १,०३,४७६ मध्ये ३,२१८ को मृत्यु भएको समाचारले सबैलाई तरंगित बनाएको छ । तुलनात्मक रुपले संक्रमण दर हेर्दा पनि गत मार्च ४ तारेखमा १५८ जनामा संक्रमण पुष्टि भएको थियो भने सो मितिमा अमेरिकामा मृत्यु हुनेको संख्या ११ जना मात्र थियो । तर एक महिनाको अन्तराल (अप्रिल ) मा संक्रमित संख्या २,७७,००० र मृत्यु ७,४०३ जना पुगेको छ ।

त्यस्तै गरी संक्रमण अत्यन्तै तिव्र रुपमा बढेको इटालीमा १,१९,८२७ जना बिरामी छन् । मर्नेहरुको संख्या १४,६८१ जना पुगेको छ भने १९,७५८ निको भएर घर फर्केका छन् । त्यस्तै स्पेनमा संक्रमण, मृत्यु र रिकभर हुनेको संख्या क्रमशः १,२४,७३६ जना, ११,७४४ जना र ३४,२१९ जना छ ।
नेपाल पनि यसको जोखिमबाट अछुतो रहने कुरो रहेन । अहिलेसम्म जम्मा संक्रमित संख्या ९ जना पुष्टि भएको छ । यद्यपि आगामी हप्तासम्म र आगामी दुई हप्तापछि यो कुन रुपले वृद्धि हुन्छ भन्ने कुराको दृश्य कस्तो हुने भन्ने निश्चित गर्ने छ । किनकि यो सातामात्र भारतबाट नेपाल भित्रिनेहरुको औपचारिक संख्या (नाकाबाट) करिब डेढ लाख भए पनि खुला सीमाबाट भित्रिनेको अभिलेख नै छैन भन्दा पनि हुन्छ ।
यो विश्वव्यापी संक्रमणले महान शक्तिशाली भनिने मुलुकहरू लगाएत विकासशील र विकासोन्मुक मुलुकहरू सबैलाई चुनौती दिएको छ । उपचारको कुनै गुन्जायस नै नभएको यो रोगले इटालीमा मात्र ६० भन्दा बढी डाक्टरहरुको ज्यान गएको छ । मानिस–मानिसबीचको दुरी कायम नगरी संक्रमितबाट बच्न नसकिने यो मिसायल रूपी भाइरसले अत्यधिक जन घनत्व र व्यस्त शहरमा आक्रमण गरिसकेपछि जति नै मेहनत गरे पनि संक्रमितबाट हुने खतरा रोक्न सकिरहेका छैनन् । त्यसैले कोरोना विरुद्ध लड्ने उपायहरु वा बच्ने उपायहरू अपनाएरै यो महामारीबाट बच्न सकिन्छ भन्ने सन्देश जनस्तरमा पुर्याउनु अत्यावश्यक छ ।
कोरोना विरुद्धको लडाइँमा विश्व, देश र देशवासी एक ढिक्का हुनुपर्छ, हुनुको विकल्प छैन ।
कोरोना कहरले पुँजीको आर्जनबाट मात्र अरुभन्दा भिन्न र श्रेष्ठ हुन सकिन्छ भन्ने कथित कल्पनाको सत्यलाई त्रासदीमा रूपान्तरित गरिएको छ । मानिस–मानिस, देश–महादेशका र समग्रमा विश्वमा विविध प्रकारका दुरी र दिवारहरुलाई गर्ल्याम्मै ढालिरहेको छ । सामुहिक शक्तिको महशुस गराइरहेको छ । हामी पूर्वीय सभ्यताका सन्तानहरुलाई एकान्तवासको अभ्यास गराइ रहेको छ । यसबाट जन्मेको निराशा र बैराग्यलाई आशा र उज्यालोका रुपमा लैजान विश्वभरका सरकारहरुले आफ्ना नागरिकहरुलाई विभिन्न प्रकारका राहत, सान्त्वना, सचेतना र दवाव दिइरहेका छन् । सरकारहरुका आ–आफ्ना चरित्र (पुँजीवादी, समाजवादी ) अनुसार जनताका असजिलाहरुलाई सम्बोधन गर्ने प्याकेज, यो महामारीका विरुद्ध प्रत्यक्ष रुपमा लड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत सेवा र उत्पादनका क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई उच्च मनोवल, त्याग र समर्पणको भावना सहितको उर्जा र सम्मानको वातावरण निर्माण गरेका छन् ।
हामी नागरिकहरुले पनि सरकारले घोषणा गरेको लकडाउनको अक्षरसः पालना, नियमित साबुन पानीले हात धुने, नित्य सरसफाइ, मास्कको प्रयोग, सफा र स्वस्थ खाना, नियमित व्यायाम, सृजनात्मक काममा समय व्यतित आदि गरी एकान्तबासलाई अनुशासनका रुपमा पालना गरी यो शक्तिशाली आन्दोलनलाई साथ दिनुपर्दछ ।
यो युद्ध समग्र रुपमा बिश्वकै साझा लडाइँ हो । पछिल्ला ४ बर्ष यताको इतिहास हेर्ने हो भने हरेक १०० बर्षमा ठुलो महामारी भएको छ ।
 सन् १७२० मा करिब १ लाख ५० हजारको ज्यान गएको थियो । रोग फैलिएको एक महिनामै पचास हजारभन्दा बढी मानिस मरेका थिए । यो रोगको संक्रमण करिब दुइ वर्षसम्म रह्यो ।

*सन् १८२० कोलेराको महामारी फैलियो । विशेष गरि एशियाली देशहरुमा (जापान, नेपाल, भारत, थाइल्यान्ड, फिलिपिन्स, ओमान, चीन, मौरिसस, सिरिया) यसले लाखौंको ज्यान लियो । इन्डोनेसियामा मात्र १ लाख बढी मानिस मरे ।
* सन् १९२० मा स्पेनिस फ्लुको महामारी फैलियो । १९१८ देखि नै देखिएको फ्लुले सन् १९२० मा महामारीको रुप लियो । यो महामारीले करिब ५ करोड मानिसको ज्यान लिएको थियो ।

 सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९)  विश्वका करिब २०५ देशमा फैलिएको छ । हालसम्म यसले ६० हजार बढीको ज्यान लिसकेको छ ।

कोरोना भाईरस महामारी महत्वपूर्ण चासो र जिम्मेवारीको क्षेत्र त हो नै त्यसमा हाम्रो देश र हाम्रो सरकारले गर्नुपर्ने कामहरु र यसले लिनुपर्ने बाटोले संक्रमण कसरी रोक्ने ? नागरिकको योगदानलाई कसरी सुनिश्चित गर्ने, मानिसहरुको राज्यप्रतिको भरोसामा कसरी विश्व स्तर आश्वस्त बनाउने भन्नेमा योजनाबद्ध रुपले आफ्ना अभियान, अभिव्यक्ति, तयारीहरुले पुष्टि गर्नुपर्छ । यसका लागी तीनै तहका सरकारहरुले गर्नुपर्ने महत्वपूर्ण कार्यहरु छन् ।

जसमध्ये –
 आपसी समन्वय
– सामूहिक प्रयास
– हरेक घरधुरी, टोल, वडा, स्थानीय तहमा व्यक्तिगत विवरणको अभिलेखन ।
– विपद व्यवस्थापनमा काम गरेका रास्ट्रसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी, पेन्सनर, गैरसरकारी क्षेत्र, राजनीतिक अगुवा आदिको रोस्टर तयारी, योजना निर्माण ।
– सीमामा रहेका नेपालीहरुको सीमा वारी ल्याई कोरेन्टाइन व्यवस्थापन ।
– स्वाव परीक्षणमा तिव्रता ।
– सम्भावित बिरामीको संख्या आँकलन गरी थप भौतिक पूर्वाधार निर्माण । – स्वास्थ्यकर्मीहरुको उच्च मनोबल तयार गर्न शतप्रतिशत सुविधा र विमा व्यवस्था ।
– सुरक्षा, संचार, चालक, सफाइ श्रमिकहरुप्रतिको सम्मानोचित व्यवहार, सेवा सुविधा, विमा आदिको बन्दोबस्त ।
– तत्काल सेवा लिन स्थानीय तहमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर ।
– संक्रमित, संक्रमितको आशंका भएका मानिसहरुसँग मानवीय व्यवहार ।
– सम्भावित खाद्य अभाव र भोकमरीबाट पार पाउने भरपर्दो योजना । किसानहरुलाई उत्साहित बनाउन कृषि बीमा ।
– वर्गीय अवस्थालाई मध्यनजर गरी न्यायोचित आपूर्तिको व्यवस्था, लकडाउनलाई प्रभावकारी बनाउन घुम्ती पसल सञ्चालन ।
– हरेक ४ दिनमा कम्तिमा सरकारका तर्फबाट जनताका नाममा सम्बोधन ।
– सरकारको नाममा जम्मा भएको राहत रकम र कारोबार र खर्चहरुको पब्लिक अडिट ।
अन्तमा, सरकार आफ्नो समयकालको सबै प्रकारको सहज–असहज परिस्थितिको नेतृत्व गर्ने जननिर्वाचित वैधानिक सँस्था हो । विषम परिस्थितिलाई जस्तोसुकै अवस्थामा पनि पार लगाउँछु भन्ने दृढता र प्रतिज्ञा नेतृत्वमा हुनुपर्छ । यसो भन्दैमा सरकार आफैले सबै प्रकारका कहर सहेर एक्लै यो अवस्थालाई पार लगाउनुपर्छ भन्ने होइन । नेतृत्वले व्यवस्थापक मात्र भैदिए हुन्छ । सरकारले गरेको होस्टेमा हैंसे गर्ने काममा नेपाली समाज र विश्व समाज जहिल्यै तयार रहन्छ ।