यसरी गरौं जाडोको स्वागतः के गर्ने, के नगर्ने ?

यसरी गरौं जाडोको स्वागतः के गर्ने, के नगर्ने ?

दशैंको रौनक सेलाउँदै जाँदा हामीलाई चिसो अनुभव हुन थालेको छ । हो त, मौसमी तापमान ओह्रालो लाग्दैछ । वायुमण्डलमा चिसो हावा चल्न थालेको छ ।

जब-जब जाडो बढ्दै जान्छ, हाम्रो आङमा लुगा थपिदै जान्छ । शरीरले न्यानो, बाग्लो लुगा खोज्न थाल्छ।

जाडोसँग सन्तुलन मिलाउनका लागि न्यानो लुगा लगाउनैपर्छ । तर, यतिले मात्र समस्याको हल हुँदैन।

किनभने जाडोले अरु पनि केही चुनौती एवं समस्या थपेर आउँछ ।


जाडोको समस्या

जाडोमा स्वास्थ्य सम्बन्धी समस्या बढ्छ, सौन्दर्य सम्बन्धी समस्या बढ्छ । मुटु रोगी, उच्च रक्तचापका रोगी, दमका रोगी आदिलाई जाडोले थप समस्यामा पार्न सक्छ । जाडोमा हाम्रो शरीरका मांसपेशीहरु खुम्चन्छन् । यसले रगतका नसाहरु साँघुरिन पुग्छ । नतिजा, उच्च रक्तचाप थप बढ्छ ।

त्यस्तै दमका रोगीलाई पनि जाडो यामले बढी सताउँछ । थाइराइडका समस्याले ग्रस्तहरुका लागि पनि यतिबेला थप कष्टकर बन्न पुग्छ ।

जाडो मौसममा सबैभन्दा बढी त रोगी, बुढापाका, बालबालिका, सुत्केरीलाई गाह्रो हुन्छ । बुढापाकाहरु चिसोले कक्रिन्छन् । जोर्नी दुख्ने समस्या थप बढ्छ । बालबालिकालाई रुघा लाग्ने, निमोनिया हुने संभावना बढ्छ ।

त्यसबाहेक हाटखुट्टा, ओंठ फुट्ने, छाला खस्रो हुने, कपलामा चाया पर्ने जस्ता समस्या चिसो हावासँगै आउने गर्छ । वायुमण्डलमा चल्ने हावा यसबेला चिसो मात्र होइन, सुख्खा पनि हुन्छ । त्यही कारण छाला, कपाल रुखो हुन्छ ।

के नगर्ने जाडोमा ?

मौसमी तापमान घट्दै गएपछि हामीले आफ्नो शरीरको तापमानलाई भने सन्तुलित राख्नुपर्छ । यसका लागि न्यानो कपडा नै उपयुक्त हुन्छ । तर, शरीरलाई न्यानो कपडाले ढाक्दैमा शरीर तातो हुन्छ भन्ने होइन ।

के गर्ने ?

प्राकृतिक न्यानोपनका लागि शारीरिक सक्रियता महत्वपूर्ण हुन्छ । यसका लागि हिँडडुल गरिरहने, व्यायाम गर्ने वा शारीरिक श्रममा जोड दिने गर्नुपर्छ । शारीरिक श्रम गर्दा सबै अंग प्रत्यांग सक्रिय हुन्छ । रक्तप्रवाह सुचारु हुन्छ । शरीर स्वतः न्यानो हुन्छ ।

के नगर्ने ?

जाडो भगाउने वाहनामा धेरैले मदिरापान गर्छन् । चुरोट सेवन गर्छन् । मदिरापान गर्दा, चुरोट पिउँदा न्यानो हुन्छ भन्ने कतिलाई भ्रम छ । कतिले चिया, कफी खाएर पनि जाडो भगाउने मेलोमेसो गर्छन् । तर, यसले शरीर न्यानो हुने होइन । बरु थप रोग निम्त्याउँछ ।

के गर्ने ?

तात्तातो खानेकुरा खासगरी झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ । मौसमी फलफूल खानुपर्छ । यसबेला मौसम सुख्ख हुने भएकाले शरीरमा पानीको अभाव हुन्छ, त्यसैले पर्याप्त पानी पिउनुपर्छ ।

के नगर्ने ?

जाडोमा हामी हिटर ताप्छौं । कोइला बालेर ताप्छौं । अँगेनामा आगो ताप्छौं । बेलाबखत यसरी शरीरलाई तताउन ठिक हुन्छ । तर, जाडो कटाउनका लागि यसको प्रयोगलाई जोड दिनु राम्रो हुँदैन ।

के गर्ने ?

हिटर होस् वा कोइला बालेर ताप्दा, धेरै लामो समय बस्नु हुँदैन । साथै धेरै नजिक पनि बस्नु उपयुक्त हुँदैन । राती सुत्नेबेला कतिले कोइला बालेर कोठा न्यानो बनाउने प्रयास गर्छन् । यो पनि राम्रो तरिका होइन । अझ झ्यालढोका थुनेर कोइला बाल्दा नराम्रो नतिजा पनि झेल्नुपर्ने हुनसक्छ । त्यसैले यस्ता कुरामा सर्तक हुनुपर्छ ।साभार : अनलाइनखबर