Pasls (पसल्स) के हो र यसले कसरी काम गर्छ?

Pasls (पसल्स) के हो र यसले कसरी काम गर्छ?

पसल्स एउटा SaaS (software as a service) मा आधारीत प्लेटफर्म हो । अन्लाईन पसल खोल्न चाहने जोसुकैले मासिक या वार्षिक शुल्क तिरेर पसल्स मार्फत सजिलै आफ्नो अन्लाईन पसल खोल्न सक्छन् ।

SaaS (software as a service)
अन्लाईन पसल खोल्ने अरु तरिका भनेको कुनै सफ्टवेयर कम्पनीलाई बनाउन दिने अनि एउटा सर्भरमा राखेर होस्ट गर्ने हो । तर यो तरिका अपनाउँदा उक्त सफ्टवेयर कम्पनीलाई डेभलपमेन्टकै पैसा तिर्नुपर्ने हुन्छ, जुन सुरुवाति खर्च हो र कम्तीमा पनि २ – ३ लाख पर्न आउने हुन्छ । पसल्समा त्यो खर्च लाग्दैन । तपाईंलाई आफ्नो बिजनेसलाई अन्लाईनमा लग्नु छ भने पसल्समा आएर साइन-अप गरेको केहि क्षणमै तपाईंको अन्लाईन पसल तयार हुन्छ । शून्य सुरुवाति खर्च । तयार अवस्थामा रहेको शटर भाडामा लिएर पसल सुरु गरे जस्तै । पसल सुरु गर्नका लागि घरको कन्सट्रक्सन गर्नु परेन । र, अर्को भनेको तपाईंले जुनसुकै बेला पनि आफ्नो अन्लाईन पसल बन्द गर्न सक्नु हुन्छ । तपाईंले जति समयको लागि पसल चलाउनु हुन्छ, हुन्छ त्यति समयको लागि मात्र पैसा तिर्नु हुन्छ । अर्को भनेको समयको बचत । पाँच मिनेटमै तपाईंको अन्लाईन पसल तयार (लाईभ) हुन्छ ।

अब खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सन्दर्भमा भन्नुपर्दा, यस सरकारी कम्पनीलाई अन्लाईन अर्डर लिनका लागि छोटो समयमै तयार गरेर अर्डर लिन सुरु गरिहल्न सक्ने प्लेटफर्म चहिएको थियो जुन पसल्सले गर्न सक्थ्यो । यसो गर्दा उक्त कम्पनीले कुनै डेभलपमेन्टको लागि लाखौँ पैसा तिर्नु परेन र यस लकडाउन (बन्दाबन्दी) को समयमा छिटो भन्दा छिटो सर्भिस सुरु गर्न सक्यो ।

SaaS के हो ?
SaaS अथवा Software as a Service भनेको, एउटा बनिसकेको सफ्टवेयरलाई ग्राहकले आफूलाई पायक पर्ने गरी प्रयोग गर्न दिने सर्भिस हो । यसो गर्दा ग्राहकले त्यो सफ्टवेयर बनाउन लाग्ने खर्च बेहोर्नु पर्दैन । ग्राहकलाई जहिले चाहिने हो र जति समयका लागि चाहिने हो त्यति नै समयका लागि पैसा तिर्ने र चलाउन मिल्ने सेवा हो । यसमा सफ्टवेयरको स्वामित्व SaaS प्रदायकको हुन्छ । यसले ग्राहकहरुको लागत पूरै बचाउँछ । SaaS का केहि उदाहरण भनेको Gmail, Zendesk, Slack, Shopify, Zoom, Dropbox, Mailchimp आदि हुन् । यसमा ग्राहकले space, bandwidth आदिको बारेमा केहि मतलब गर्नु पर्दैन।

अब आयो कुरा, सर्भर किन ब्याङ्लोरमा ?
माथि भनेझैँ, SaaS मा सफ्टवेयर ग्राहक्लाई मासिक, वार्षिक वा अन्य कुनै सदस्यताको आधारमा चलाउन दिइन्छ । जुनसुकै बेला जतिसुकै धेरै ग्राहकले साइन-अप गर्न सक्ने भएकोले सर्भरको क्षमता चाहिएको बेलामा घटाउन/बढाउन मिल्ने हुनु पर्दछ । नेपालमा त्यसरी चाहिएको बेलामा सर्भरको क्षमता घटाउन/बढाउन मिल्ने प्रकारको सर्भिस दिने प्रोभाइडर कोहि पनि छैन ।

त्यसका लागि हामीसँग AWS, Digital Ocean जस्ता क्लाउड प्रोभाइडर(IaaS/PaaS) बाहेक अरु विकल्प छैन । साथै, भर्खरै सुरु भएको स्टार्टअप भएकाले नेपालमा आफ्नै सर्भर राखेर मेन्टेन गर्ने आर्थिक क्षमता पनि हामीसँग छैन । हाम्रो सर्भर Digital Ocean मा छ । Digital Ocean को डाटा सेन्टर भारतमा मात्र नभई अमेरिकाको न्यूयोर्क, सान फ्रान्सिस्को, सिंगापुर लन्डन जर्मनी र क्यानडामा पनि छ । भारतको सर्भर नेपालबाट सबैभन्दा नजिक हुने भएकाले नै ब्याङ्लोरमा राखेका हौँ ।

हामीले सर्भर जति बेला पनि अर्को प्रोभाइडरकोमा सार्न सक्छौँ । आज भारतमा छ, भोलि लन्डनमा हुन सक्छ । हाम्रो आर्थिक क्षमता र मानव संसाधन भयो भने भोलि नेपालमै पनि आफ्नै सर्भर हुन सक्छ ।

अन्त्यमा,
सरकारी निकायमा सफ्टवेयर टेन्डरमा दिँदा लाखौँ, करोडौँको हिनामिना हुने गरेको समाचार हामीले सुनिरहेका छौँ । यस्तो बेलामा नेपालकै SaaS platform प्रयोग गरेर, सकेसम्म कम खर्चमा अन्लाईन पसल बनाउन हामीले सहयोग गर्न सकेकोमा हामी गर्व गर्छौँ । साथै, यस प्लेटफर्मको प्रयोगका लागि प्रोत्साहित गर्नुहुन्छ भन्ने आशा गर्दछौँ ।