हतारमा लकडाउन हटाउनु घातक हुने विश्‍व स्वास्थ्य संगठनको चेतावनी

हतारमा लकडाउन हटाउनु घातक हुने विश्‍व स्वास्थ्य संगठनको चेतावनी

कोभिड-१९ बाट मानिसलाई बचाउन विश्‍वभर लगाइएको लकडाउन हतारमा हटाउने कदम घातक बन्ने चेतावनी विश्‍व स्वास्थ्य संगठनले दिएको छ। त्यस्तो कदमबाट कोरोना भाइरसका संक्रमित र मृतकको संख्या तीव्र रूपमा बढ्ने चेतावनी पनि संगठनले दिएको छ।

बीबीसीका अनुसार संगठनका महानिर्देशक टेड्रोस अदानम गिब्रियेससले सबै मुलुकले लकडाउन हटाउनेबारेमा सतर्कता अपनाउनुपर्ने बताए। कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित इटाली र स्पेनले लकडाउन खुकुलो बनाउँदै लगेकामा उनले असन्तुष्टी जनाए।

‘संसारभरका सरकारहरूसँग लकडाउनको अवरोध कम गर्दै लैजाने रणनीतिमाथि काम गरिरहेका छौं,’ उनले संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘तर, कुनै पनि हतारोले यस महामारीलाई अझ फैलिन र ठूलो संख्यामा मानिसको मृत्यु गराउन सहयोगी भूमिका निर्वाह गर्न सक्छ।’