नेपालमा थप तीनजनामा कोरोना, संक्रमितको संख्या १२ पुग्यो

नेपालमा थप तीनजनामा कोरोना, संक्रमितको संख्या १२ पुग्यो

नेपालमा थप तीनजनामा कोरोना संक्रमण भएको छ । वीरगन्जको नारायणी क्षेत्रीय अस्पतालमा आएका तीनजना भारतीय धर्मगुरुमा कोरोना संक्रमण देखिएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले पनि नेपालमा १२ जनामा कोरोना देखिएको पुष्टि गरेको छ ।  उनीहरुको दुईपटक हेटौँडामा कोरोना परीक्षण गरिएको थियो । दुवैपटक कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

शनिबार बेलुका आएको रिपोर्टअनुसार उनीहरु तीनजनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरुसँगै २१ जना परीक्षणका लागि नारायणी अस्पताल पुगेको बताइएको छ ।

मन्त्रालयले भनेको छ, “पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित मस्जिदमा शंकास्पदहरुमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीनजना वर्ष ३७, ५५ र ४४ वर्षका पुरुषहरुलाई कोभिड १९ को शंका लागि नारायणी अस्पताल वीरगन्ज आइसोलेसनमा राखि निजहरुको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको ल्याबमा परीक्षण गरिएको थियो ।

उक्त परिक्षणमा २१ जनामध्ये शंकास्पद तीनजनाको पुनः ऐकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार पुनः परीक्षण गरिएकोमा त्यहाँबाट समेत पोजेटिभ देखिएको हुँदा निजहरुको संसर्ग र निजहरुको गएको स्थान पहिचान गरि कन्ट्याक ट्रेसिङ गर्ने कार्यहरु भैरहेको छ ।”