आजदेखि एनसेलको सबै कर चुक्ता

आजदेखि एनसेलको सबै कर चुक्ता

एनसेलले आइतबार सरकारलाई सम्पूर्ण पुँजीगत लाभकर बुझाएको छ। दुई साताअघि दोस्रो किस्तावापत चार अर्ब ६० करोड बुझाएको एनसेलले आइतबार बाँकी सबै रकम बुझाएको जानकारी दिएको छ । 

एनसेलले १४ अर्ब ३३ करोड रुपैयाँ लाभकर बुझाएको हो। योसँगै एनसेलको लाभकरसँग सम्बन्धि सबै दायित्व सकिएको छ।  

एनसेलले सुरुमा अग्रिम लाभकरवापत कुल लाभको १५ प्रतिशत हुने २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो। त्यसपछि बाँकीको १० प्रतिशत लाभकर कोसँग असुल गर्ने भन्ने विवाद सुरु भएको थियो। 

यो विवादमा सर्वोच्च अदालतले फैसला दिएपछि एनसेलको सेयर कारोबारमा भएको लाभमा बाँकीको १० प्रतिशत कर भुक्तानीको प्रक्रिया सुरु भएको थियो। सर्वोच्चको फैसलालगत्तै  एनसेलले बाँकी रहेको करको करिब २० प्रतिशत रकम बुझाएको थियो। 

त्यतिबेला एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको थियो। दोस्रो किस्तावापत ४ अर्ब ६० करोड बुझाएको थियो। 

अन्तिम किस्तामा १४ अर्ब ३३ करोड बुझाएको हो। एनसेलले पुँजीगत लाभकरवापत २३ अर्ब १६ करोड रुपैयाँ सरकारलाई बुझाइसकेको छ। एनसेलले पुँजीगत लाभकर भुक्तानी गरेपछि लकडाउनका कारण राजस्व असुली ठप्पजस्तै रहेको अवस्थामा सरकारलाई राहत भएको छ।