बैतडीमा १ सय ३३ जनाको कोरोना रिपोट "नेगेटिभ"

बैतडीमा १ सय ३३ जनाको कोरोना रिपोट "नेगेटिभ"

बैतडी : बैतडीमा क्वारेन्टाइनमा बसेका १ सय १७ जनाको कोरोना रिपोट नेगेटिभ आएको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट अन्तर्गत विभिन्न पालिकामा क्वारेन्टाइनमा बसेका नागरिकको शनिबार र आइतबार जाँच गर्दा उनीहरुको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए  । 

सुर्नया गाउँपालिका,दोगडाकेदार गाउँपालिका,डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा क्वारेन्टाइनमा बसेका नागरिकहरुको र्‍यापिड टेस्ट गर्दा उनीहरु सबैको रिपोट नेगेटिभ आएको भट्टले जानकारी दिए । 

यस्तै सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत १३ जना र अन्य तीन जना प्रहरीको पनि कोरोना रिपोट नेगेटिभ आएको छ । ३ जनाको जिल्ला अस्पतालमा र्‍यापिड टेस्ट गरिएको जिल्ला अस्पतालका प्रमुख डा. बसन्तराज जोशीले जानकारी दिए । 

३ जनामध्ये एकजना आइसोलेसनमा भर्ना गरिएकाको पनि र्‍यापिड टेस्ट गरिएको थियो । उनको थ्रोट स्वाबको रिपोट भने आउन बाँकी रहेको जिल्ला अस्पतालले जनाएको छ । 

जिल्लामा क्वारेन्टाइनमा बसेका ४ सय २५ जनाको थ्रोट स्वाब संकलन गरिएकोमा उनीहरुको रिपोट भने आउन बाँकी रहेको छ । उनीहरु अहिले पनि क्वारेन्टाइनमै बसीरहेका छन् । र्‍यापिड टेस्ट गरिएकालाई एक हप्ता घरमै क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घर पठाएको बताइएको छ ।