सुदूरपश्चिम फर्कने मजदुरहरु कैलाली र बर्दियाको सिमाना चिसापानीमा अलपत्र

सुदूरपश्चिम फर्कने मजदुरहरु कैलाली र बर्दियाको सिमाना चिसापानीमा अलपत्र

धनगढी : कोरोना भाईरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका मजदुरहरु कैलालीको चिसापानीमा अलपत्र परेका छन । रोजगारीका लागि काठमाण्डौ लगायत अन्य ठाउँबाट सुदूरपश्चिम फर्कन खोज्ने ३१ जना यात्रुहरु अलपत्र परेका हुन ।

खाना समेत खान नपाएर उनीहरु भोकभोकै बर्दिया र कैलालीको सिमानाकामा बस्न बाध्य भएका छन । ट्रक र पैदल हिडेर मजदुरहरु कैलाली र बर्दियाको सिमाना चिसापानीमा पुगेका थिए । तर त्यहाँबाट स्थानीय प्रशासन र प्रदेश सरकारले आउन नदिए पछि उनीहरु भोकभोकै चिसापनीमा बस्न बाध्य भएका छन ।

सरकारले आफुहरुलाई वेवास्ता गरेको उनीहरुले गुनासो गरेका छन । आफुहरुलाई चिसापानीबाट घर जान नदिएको भन्दै उनीहरु आक्रोसित हुन थालेका छन । पूर्वी नेपालमा मजदूरी गर्ने उनीहरु सोमबार हिँडेरै चिसापानी पुगेका थिए ।

उनीहरुलाई प्रहरीले जताबाट आयो उतै फर्काइदिएको थियो । त्यसपछि बाँके पुगेका उनीहरुलाई बाँके प्रहरीले फेरि चिसापानीतिर नै फर्काइदिएको बताइएको छ ।

चिसापानीमा अलपत्र परेका मध्ये कतिपय साना बालबालिका सहित महिलाहरु रहेका छन । खानलाई चाउचाउ समेत नपाएको भन्दै उनीहरुले आफुहरुलाई छिटो घर पठाउन प्रशासन सँग माग गरेका छ ।

क्वारेन्टाईनमा बस्नु परेपनि आफुहरु आफ्नै ठाउँमा बस्न तयार रहेको उनीहरुले बताएका छन । आफुहरुलाई भोकभोकै बस्न बाट बचाउन प्रदेश सरकार र स्थानीय सरकारलाई उनीहरुले अनुरोध गरेका छन ।

उनीहरु चिसापानी पुगेपछि जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाको पहलमा सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्नेगरी तिनलाई पठाउन लागिएको छ । मान्छेलाई छाडापशु जस्तो दुःख दिनु हुँदैन, सरकार जिम्मेवार बन्न सक्नु पर्ने जिल्ला समन्वय समिति प्रमुख थापाले बताउनुभयो ।

तिनलाई सम्बन्धित स्थानीय तहले बुझेर कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्नका लागि समन्वय भइरहेको नगरपालिका–३ का वडाध्यक्ष भक्तबहादुर चलाउनेले जानकारी दिए ।