कञ्चनपुर कारागारका कैदीले पनि ‘गाँस काटेर’ दिए श्रमिकलाई राहात

कञ्चनपुर कारागारका कैदीले पनि ‘गाँस काटेर’ दिए श्रमिकलाई राहात

कञ्चनपुर : कञ्चनपुर कारागारका जेल जीवन बिताइरहेका कैदीबन्दीले बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका श्रमिक तथा विपन्न समुदायलाई हस्तान्तरण गर्न खाद्यान्न उपलब्ध गराएका छन्।

आफूलाई उपभोग गर्न प्राप्त हुने खाद्य सामग्रीबाट जोगाएर कैदीबन्दीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडामार्फत् ६ क्विन्टल चामल र ५० किलो नुन दैविक प्रकोप उद्धार समितिलाई आज हस्तान्तरण गरेका हुन्।

“दुई क्विन्टल चामल बिहान दाउरा र तरकारी ल्याउनेलाई वितरण गर्‍यौं”, कैदीबन्दीका नाइके भीम भट्टले भने, “कारागार कोभिड-१९ को उच्च जोखिममा रहेको विषय प्रमुख जिल्ला अधिकारलाई ध्यानाकर्षण गराएका छौं।”

कैदीबन्दीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कारागारको क्षमताभन्दा चार गुणा बढी रहेको जानकारी गराएका छन्। “सामाजिक दूरीसमेत कायम गर्न सक्ने अवस्था कारागारमा छैन”, नाइके भट्टले भने, “कोरोना भाइरसको सन्त्रासले झन समस्या भइरहेको छ।”