कोभिड-१९ नियन्त्रणमा सहयोग पुर्‍याउन टेलिकमले मोबाइलबाटै शुरू गर्‍यो सर्वेक्षण

कोभिड-१९ नियन्त्रणमा सहयोग पुर्‍याउन टेलिकमले मोबाइलबाटै शुरू गर्‍यो सर्वेक्षण

कोभिड-१९ नियन्त्रणमा सहयोगका लागि नेपाल टेलिकमले मोबाइलबाट सर्वेक्षण शुरू गरेको छ। टेलिकमले आफ्नो कम्पनीका मोबाइल प्रयोगकर्ताहरूलाई *1419# डायल गरी सोधिएका प्रश्‍नहरूको जवाफ दिने व्यवस्था मिलाएको छ।

टेलिकमले कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षणसँग सम्बन्धित प्रश्नावली तयार पारेको छ।आफ्नो फेसबुक पेजमार्फत् नेपाल टेलिकमले पहिलो चरणमा सर्वेक्षण सुदूरपश्चिम क्षेत्रबाट शुरू गरेर क्रमशः प्राथमिकता अनुसार अन्य प्रदेशहरुमा संचालन गर्ने जनाएको छ।

सर्वेक्षणका लागि कम्पनीले सम्बन्धित प्रदेशका सबै जिल्लाहरूमा रहेका कम्पनीका मोबाइल प्रयोगकर्ताहरुलाई एसएमएस पठाउनेछ। एसएमएस प्राप्त भएपश्चात *1419# डायल गरी सोधिएका प्रश्नहरुको जवाफ अंक '१' वा '२' थिचेर दिन सकिनेछ।

हरेक प्रश्नको उत्तर यदि ‘हो वा ‘छ’ भएमा १ र ‘होइन’ वा ‘छैन’ भएमा २ थिचेर पठाउनुपर्ने टेलिकमले जनाएको छ। नेपाल सरकारको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) सँगको सहकार्यमा सर्वेक्षण थालिएको जनाउँदै टेलिकमले यसबाट प्राप्त हुने तथ्यांकको विश्लेषणबाट कोरोना संक्रमणको अवस्थाको बारेमा महत्वपूर्ण जानकारी पाउनुका साथै संक्रमण नियन्त्रण गर्न सहयोग पु-याउन सक्ने विश्वास गरिएको उल्लेख गरेको छ।