सनसिटी अपार्टमेन्टका दुई सय ९८ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ'

सनसिटी अपार्टमेन्टका दुई सय ९८ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ'

कागेश्वरी मनोहरा नगरपालिका-९  पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा परीक्षण गराएका दुई सय ९८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।  र्‍यापिड डाइग्नोस्टिक टेष्टमार्फत बुधबार परीक्षण गराएका तीन सय जनाको रिपोर्ट नेगेटिभ आएको कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिए।

बुधबार बिहानदेखि  स्वास्थ्य सेवा विभाग इपिडिमोलोजी महाशाखाबाट डा. अमृत पोखरेल, महेन्द्र अधिकारी र कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा १५ जना स्वास्थ्यकर्मीको टोलीले सनसिटी अपार्टमेन्टको ब्लक (ए) मा रहेकाको कोरोना परीक्षण गरेको थियो।

परीक्षणसँगै अपार्टमेन्टमा सरसफाइको काम भइरहेको छ। नगरपालिकाले गाडीबाट क्लोरिन छर्कने काम भइरहेको नगरप्रमुख थापाले जानकारी दिए। अपार्टमेन्टमा आजको परीक्षण सकेर  स्वास्थ्यकर्मीको टोली काठमाडौं महानगरपालिकाको ५ नम्बर वडा कार्यालयका प्रतिनिधि र कर्मचारीको कोरोना परीक्षण गर्न गएको छ। 

संक्रमित मध्ये ५८ वर्षीय पुरुष कामविशेषले महानगरपालिकाको ५ नम्बर वडा गएको बुझिएको नगर प्रमुख थापाले बताए। मेयर थापाका अनुसार अपार्टमेन्टमा बस्ने अन्यको परीक्षण बिहीबार हुनेछ। 

मंगलबार सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण देखिएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण सुरु भएको हो। स्वास्थ्य मन्त्रालयको १५ जनाको टोलीले आरडीटी प्रविधिमार्फत परीक्षण गरेको हो।  बुधबार तीनवटा टेबुलबाट परीक्षण भएको हो।

अर्पाटमेन्टमा ५ सय परिवारका करिब १२ सय जना बस्दै आएका छन्। उक्त अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण सुरु भएको हो। मंगलबार एक ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो। 

नगरपालिकाले अपार्टमेन्ट आसपासका क्षेत्रमा कडाइ गरेको छ। कोरोना जोखिम बढेपछि उक्त क्षेत्रमा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ। वडाले एक सूचना जारी गर्दै खाद्यान्न, तरकारी र डेरी पसल बिहान ४ बजेदेखि ८ बजेसम्म मात्र संचालन गर्न अनुरोध गरेको छ।

मासु पसल, मदिरा पसल, घुम्ती ठेलागाडा, फुटपाथ अर्को सूचना प्रकाशित नभएसम्म खोल्न नपाइने वडा कार्यालयले जनाएको छ। नगरपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि नगरबासीलाई अनुरोध गरेको छ। पासबिना सवारी चलाएको पाएमा कारबाही हुने नगर प्रमुख थापाले बताए।