स्वास्थ्य उपकरण खरिदमा ठगियो महाकाली अञ्चल अस्पताल

स्वास्थ्य उपकरण खरिदमा ठगियो महाकाली अञ्चल अस्पताल

कंचनपुर :  स्वास्थ्यसम्बन्धी उपकरणहरुको कारोबार गर्दै आएको काठमाडौंको एक सप्लायर्सलाई  महाकाली अस्पतालका लागि प्रयोगमा आइसकेको भेन्टिलेटर बिक्री गरेको आरोप लागेको छ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सरकारी  अस्पताललाइ उक्त सप्लायर्सले प्रयोगमा आइसकेको भेन्टिलेटर बिक्रि गरेको कुराको विवाद उठेपछी  अस्पतालले छानबिन समिति बनाउने तयारी गरेको छ ।
शल्य चिकित्सा, औषधी तथा दाँत सम्बन्धी उपकरण तथा औजारहरु, स्वास्थ्य सम्बन्धी उपकरण तथा डाइग्नोस्टिक केमिकललगायतका वस्तु आयात गर्दै आएको आरजी सप्लायर्स प्रालिले महेन्द्रनगरको महाकाली अस्पताललाई सञ्चालनमा आइसकेको पुरानो भेन्टिलेटर बिक्री गरेको भन्दै अस्पतालले छानबिन समिति बनाउने तयारी गरेको हो ।

प्रदेश सरकारबाट उपलब्ध भएको बजेटबाट सघन उपचार कक्ष (आईसीयू) सञ्चालनका लागि अस्पतालले खरिद गरेका विभिन्न पाँच स्वास्थ्य उपकरणमध्ये भेन्टिलेटर यसअघि नै प्रयोगमा ल्याइएको पाइएको अस्पताल स्रोतले दाबी गरेको छ । 

अस्पतालको चिकित्सक स्रोतले सप्लायर्सले उपलब्ध गराएको भेन्टिलेटर सन् २०१७ देखिनै ‘क्यालिब्रेट’ भएर २०२० सम्म पटक–पटक सञ्चालनमा आएको देखिएको दाबी गरेको छ । 

भेन्टिलेटरको म्यानुफेक्चर २०१५ रहेको  तर २०१७ बाट क्यालिब्रेट भएर पटक–पटक चलेको र भेन्टिलेटरमा खिया समेत लागेको चिकित्सक स्रोतले जनाएको छ। चिकित्सक स्रोतका अनुसार  भेन्टिलेटर ह्युमिटी फायर पनि नभएको जनाइएको छ  । 

उक्त सप्लायर्सले अस्पतालमा पठाएको स्वास्थ्य सामग्री खोलेर हेर्दा भेन्टिलेटरको बडी पुरानो, दाग लागेको, स्ट्यान्डमा खिया लागेको, सर्किटहरु अपूर्ण रहेको  समेत फेला परेको स्रोतले जनाएको छ । 

भेन्टिलेटर पुरानो देखिएपछि अस्पतालले मंगलबार नै सप्लायर्सलाई खबर गरेको थियो । 
अस्पतालले स्वास्थ्य सामग्रीका बारेमा गुनासो गरेपछि सप्लायर्सले एकजना इन्जिनियरलाई महेन्द्रनगर पठाएको थियो । 

“मोडल २०१५ नै हो । मैले हेरेअनुसार युज भएको आवर भनेको टू आवर्स (दुई घण्टा) छ । त्यो क्यालिब्रेसनमा युज भएको हो । एज अ सफ्टवेयर भेन्टिलेटरको इन्फरमेसन अनुसार यो मेसिन सेकेन्ड हेन्ड होइन,” सप्लायर्सले पठाएका इन्जिनियर जय साउदले भने ।   

अस्पतालले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त एक करोडबाट कोरोनाभाइरस रोकथामका लागि आईसीयू सञ्चालनका लागि भेन्टिलेटरसहितका पाँच उपकरण खरिद प्रक्रिया अघि बढाएको थियो ।
सोही बजेटबाट अस्पतालले भेन्टिलेटरसहितका उपकरण खरिदका लागि सातदिने सूचना जारी गरेको थियो । आरजी सप्लायर्स प्रा.लि. काठमाडौंले उपकरण खरिदको जिम्मेवारी पाएको थियो । 

आरजीले ५३ लाख ८७ हजारमा सामान सप्लाई गरेको थियो । आरजीले भेन्टिलेटर २६ लाख ३९ हजार, पेसेन्ट मोनिटर दुई थान आठ लाख ७८ हजार, ब्लड ग्यास एनालाइजर ११ लाख ९० हजार र डेफिब्रिलेटर ६ लाख ८० हजारमा खरिद गरेर अस्पतालमा दिएको छ । 

अस्पतालको खरिद इकाईले प्रक्रिया पूरा गरेरै खरिद गरेको सामग्री प्रयोगमा आइसकेको सामग्री पर्दा आश्चर्य मा परेको  
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण जोशीले बताए ।
उनले सामग्री खरिदको छानबिनका लागि समिति गठन गर्ने पनि बताएका छ्न।  

“खरिद इकाइले मगाएको हो । प्रक्रिया पूरा गरेरै आएको हो । तर आउँदा यो सेकन्ड ह्यान्ड आएको हो भन्ने कुरा छ,” अध्यक्ष जोशीले भने, “छानबिन समिति गठन गरेर, बाहिरबाट इन्जिनियर बोलाएर गल्ती नै गरेको हो भने कारवाही गर्नुपर्छ र सप्लायर्सलाई कालोसूचीमा राख्नुपर्छ । जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन ।”
तर, आरजी सप्लायर्सका सञ्चालक ज्ञान शंकर देवले अस्पताललाई प्रयोगमा आइसकेको स्वास्थ्य सामग्री बिक्री नगरेको दाबी गरेका छन् । 
“सामान पुरानो होइन । दुई घण्टामात्रै युज भएको छ,” सञ्चालक देवले भने, “सामान देखाउन हस्पिटल पठाएका हौं । बुझाएका छैनौँ । एग्रिमेन्ट नगरी सामान दिने कुरै हुँदैन ।”  पठाएका स्वास्थ्य सामग्री अस्पतालले स्वीकार नगरे फिर्ता लिनेसमेत उनले बताएका छ्न ।