२४ घण्टामा करिब २९ सयको कोरोना परीक्षण, ६३ जिल्लामा र्‍यापिड टेस्ट

२४ घण्टामा करिब २९ सयको कोरोना परीक्षण, ६३ जिल्लामा र्‍यापिड टेस्ट

उपचारमा रहेका १५ जना जनाबाहेक बुधबारसम्म थप कोरोना संक्रमित बिरामी फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको जानकारी दिएका हुन्। तर विभिन्न जिल्लामा भएको र्‍यापिड टेस्टमा भने पोजेटिभ देखिएको छ। पीसीआर परीक्षण नगरी कोरोना संक्रमण भएको भन्न नमिल्ने देवकोटाले बताए।

अहिलेसम्म पीसीआर र र्‍यापिड टेस्ट गरेर १५ हजार ८ वटा जनाको परीक्षण गरिएको छ। एक दिनमा दुई हजार ८९४ जनाको परीक्षण गरिएको हो।

संक्रमण फैलिने सम्भावना भएपछि अहिले १४ वटा जिल्लाबाहेक अन्य सबैमा र्‍यापिड टेष्ट गरिरहेको प्रवक्ता देवकोटाले जानकारी दिए। प्रदेश नम्बर १ का सातवटा, प्रदेश २ का ३, गण्डकीमा १, प्रदेश ५ मा १ जिल्लामा परीक्षणा भएको छैन। यस्तै कर्णालीका २ जिल्लामा पनि र्‍यापिड टेस्ट हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ।

अहिलेसम्म काठमाडौँ उपत्यकाभित्र ११ जना र उपत्यकाबाहिर १०६ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै देशभर ५ हजार ६ सय १४ जना मानिस क्वारेन्टाइनमा रहेका छन्।

अहिलेसम्म नेपालमा १६ जना कोरोना संक्रमित बिरामी देखिएका छन्। जसमा एक जना उपचारपछि फर्किएका छन् भने बाँकी १५ जनाको उपचार भइरहेको छ।