भारतीय क्वारेन्टाइनमै बसेर आमाको काजकिरिया

भारतीय क्वारेन्टाइनमै बसेर आमाको काजकिरिया

दार्चुला : हिन्दु परम्परा अनुसार काजक्रिया गर्न जन्मथलो अर्थात दिवन्गत हुनु भएकै ठाउँमा १३ दिन सम्म सेतो कपडा ओढेर गर्नु पर्ने भएपनि दार्चुलाका बासुदेव भट्टलाई भने परदेशमा आमाको क्रिया गर्नुपरेको छ ।

आफ्नै जन्मभुमि जाने प्रवेशद्धारमा ताल्चा लागेपछि उनी आमाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन्, काजकिरियाका लागि पनि नेपाल प्रवेशको अनुमती नपाएपछि उनी क्वारेन्टाईनमै किरिया बसेका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका–१ घर भएका वासुदेव भट्ट दुई साता देखी भारतको क्वारेन्टाइनमा बसेका बेला मंगलवार घरमा आमा बितेको खबर पाए पनि जन्म भुमि जान पाएनन् । मंगलवारदेखि नै उनी आमाको अन्तिम संस्कार र काजकिरियाका लागि घर फर्किन हारगुहार गरिरहेका छन् । “आमा वित्दा पनि घर जान पाइएन्, नेपाल सरकारले मलाइ रोकी राखेको छ ।”

भट्टले भने—मंगलबार आमा वितेपनि अहिले सम्म घर जान पाईएको छैन् । अहिले बासुदेव भारतको बलुवाकोट क्वारेन्टाइनमै सेतो कपडा ओढेर किरिया बसेका छन् । फागुन महिनामा मजदुरी गर्न भारत गएका भट्ट लकडाउन पछि घर आउँदा धारचुलामा अलपत्र परेका हुन् ।

भट्टलाई नेपाल ल्याउन पहल भइरहेको तर माथिको आदेश अहिले सम्म नआएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले बताए ।