कञ्चनपुरमा भारत सँग जोडिएका सीमा क्षेत्र सशस्त्र प्रहरीद्धारा सिल

कञ्चनपुरमा भारत सँग जोडिएका सीमा क्षेत्र सशस्त्र प्रहरीद्धारा सिल

कञ्चनपुर : भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कञ्चनपुरको सीमा क्षेत्र सिल गरेको सशस्त्र प्रहरीले जिल्ला पनि सिल गरेको छ । सशस्त्र प्रहरीले कञ्चनपुर प्रवेश नाका कृष्णपुर नगरपालिका– ६ को गुलरिया र पुनर्वास नगरपालिका– ११ डोकेबजार क्षेत्रबाट जिल्ला प्रवेश र बाहिरिन दिएको छैन । 

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुले लकडाउनको नीतिअनुरूप जिल्ला प्रवेशमा पनि राेक लगाएकाे बताए । ‘हामीले अन्य जिल्लाबाट कञ्चनपुर प्रवेश गर्ने मुख्य दुई नाका गुलरिया र डोकेबजारमा २४सै घन्टा सशस्त्र प्रहरी खटाएका छौँ,’ ‘उनले भने, ‘जिल्लामा प्रवेश गर्न र बाहिरिन पनि दिदैनौँ ।’

जिल्ला प्रवेश गर्न नदिएपछि कोरोना संक्रमणको जोखिम न्यूनीकरण हुने अनुमान गरिएको छ । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरीले थप दुई सय २० जनशक्ति परिचालन गरेर कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।