अहिलेसम्म १९ हजार ४ सय ३२ को परीक्षण, ६९ जिल्लामा र्‍यापिड टेस्ट सुरु

अहिलेसम्म १९ हजार ४ सय ३२ को परीक्षण, ६९ जिल्लामा र्‍यापिड टेस्ट सुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आएका व्यक्तिहरू अनिवार्य रूपमा क्वारेन्टाइनमा बसे/नबसेको अनुगमन गरिदिन स्थानीय तहलाई आग्रह गरेको छ।

विदेशबाट आएर पनि कतिपय व्यक्ति क्वारेन्टाइनमा बस्ने नगरेको गुनासो आउन थालेपछि आज मन्त्रालयले देशैभरका सबै स्थानीय तहलाई यस्तो आग्रह गरेको हो।

मन्त्रालयले नियमित आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै कोभिड-१९ को संक्रमणबाट बच्नका लागि सहयोगको आग्रह गरेका हुन्।

“स्थानीय तहभित्रका जनशक्ति, उपकरण, औजार लगायतको अभिलेख राखिदिन अनुरोध गर्दछौँ,” उनले भने, “के कति स्वास्थ्य जनशक्ति रहेको छ त्यसलाई पनि रोकथाम, नियन्त्रण र उपचारमा परिचालन गर्न सकिन्छ।”

मन्त्रालयले सम्भावित संक्रमित व्यक्तिको नमूना परीक्षणमा सहयोगका लागि पनि स्थानीय तहलाई भनेको छ। प्रदेशका स्वास्थ्य निर्देशनालय, चिकित्सक र अस्पतालसँग समन्वय गर्न र आवश्यक सहयोग चाहिएमा मन्त्रालयको टोल फ्रि नम्बरमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

“एक ठाउँबाट अर्को ठाउँमा बिरामी लैजानुपर्ने हुन सक्छ त्यसका लागि पनि स्थानीय तहको सहयोग आवश्यक हुन्छ”, उनले भने, “एक अर्काेलाई सहयोगको भावनाले काम गर्ने हो भने अबका दिनमा आउन सक्ने संक्रमण रोक्न सकिन्छ।”

मन्त्रालयले स्थानीय तहमा उत्पादन हुने खाद्य वस्तु लगायतको खपत बढाउने काममा पनि सहयोग आवश्यक रहने बताएको छ।

संघ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहजीकरण गर्ने उद्देश्यले मन्त्रालयबाट ११औं तहका कर्मचारी खटिएको भन्दै मन्त्रालयले यसले संघ, प्रदेशबीच जनशक्ति व्यवस्थापन, अस्पताल व्यवस्थापन र परीक्षणको दायरा बढाउन सहज हुने उल्लेख गरेको छ।