सुदूरपश्चिम प्रदेश सरकारले राहतको लागि स्थानीय तहलाई पठायो १६ करोड

सुदूरपश्चिम प्रदेश सरकारले राहतको लागि स्थानीय तहलाई पठायो १६ करोड

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले घोषित राहत रकम वितरणको लागि स्थानीय तहलाई रकम पठाएको छ । गरीब, असहाय र विपन्नलाई प्रतिपरिवार ३ हजार रुपैयाँका दरले राहत दिने भनी घोषणा गरेअनुसार प्रदेश सरकारले प्रदेशस्थित सबै स्थानीय तहलाई १६ करोड बजेट पठाएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले राहत वितरणको मापदण्ड अनुसार वितरणको लागि रकम निकासा गरिसकेको जानकारी दिँदै लकडाउनको अवधिभित्रै स्थानीय तहमार्फत वितरण हुने बताए । प्रदेश सरकारको चैत २७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट राहत दिने निर्णय गरेको थियो ।

मापदण्ड अनुसार यसअघि राहत प्राप्त गरिसकेका नदोहोरिने गरी वितरण गरिने भएको छ । प्रतिपरिवार ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नून, २ लिटर खानेतेल, ४ वटा साबुन र २ किला चिनी वितरण गरिने भएको छ ।