भेन्टिलेटरलगायत उपकरण खरिद प्रकरण : अख्तियारद्वारा कागजात नियन्त्रण

भेन्टिलेटरलगायत उपकरण खरिद प्रकरण : अख्तियारद्वारा कागजात नियन्त्रण

कोरोना रोकथाम तथा नियन्त्रणका लागि महाकाली अस्पतालले गत चैतमा खरिद गरेको भेन्टिलेटरसहितका उपकरणमा बदमासी भएपछि अख्तियारको टोलीले कागजपत्र नियन्त्रणमा लिएको छ ।

विभिन्न सञ्चारमाध्यममा भेन्टिलेटर खरिद प्रक्रियामा घोटाला भएको समाचार प्रकाशित भएपछि अख्तियारको टोलीले बिहीबार अस्पताल प्रशासनबाट कागजात नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले भेन्टिलेटर खरिद प्रक्रियाका सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिइएको बताए । उनले भने, ‘अहिले हामीले कागजात नियन्त्रणमा लिएका छौँ । अब कागजपत्र अध्ययन गरेर भेन्टिलेटर खरिदबारे अनुसन्धान गर्छौं।’

आपूर्तिकर्ता कम्पनीका सञ्चालकको हस्ताक्षर र छाप पनि नलगाई र सम्झौता नहुँदै सामान अस्पताल पुऱ्याइदिएपछि भेन्टिलेटर खरिदमा घोटाला भएको आशंका गरिएको हो । सामाजिक विकास मन्त्रालयका इन्जिनियर हरेन्द्र चटौतले उपकरणको स्थलगत अनुगमन गरेर बुधबार महाकाली अस्पताललाई लिखित प्रतिवेदनसमेत बुझाएका छन् ।

चटौतले दिएको प्रतिवेदनमा नौ बुँदा त्रुटि देखाइएको छ । चटौतको प्रतिवेदनअनुसार भेन्टिलेटर, पेसेन्ट सर्किट, स्ट्याण्ड र अक्सिजन पाइप मात्र रहेको पाइएको छ । भेन्टिलेटर सन् २०१५–१२ मा बनेको तथा भेन्टिलेटरको ट्रलीदेखि ह्विल्ससम्म खिया लागेको, डिस्प्ले र नोब फोहोर रहेको पाइएको उल्लेख छ ।

त्यस्तै भेन्टिलेटर सफ्टवेयरअनुसार दुई घन्टा मात्र चलाइएको, भेन्टिलेटर कोल्याब्रेसन कलिब्रेसन गरेको अवस्था नरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।