कोरोना महामारीका ती ६ दिन जसले संकटमा पारेको छ मानव सभ्यता

कोरोना महामारीका ती ६ दिन जसले संकटमा पारेको छ मानव सभ्यता

चिनियाँ उच्च अधिकारीहरू कोरोना भाइरसको महामारी फैलिएको छैठौं दिनमा पनि नयाँ वर्ष मनाउन वुहानमा एउटा भोजको आयोजना गरिरहेका थिए । महामारी फैलिएका जानकारी पाएर पनि आयोजना गरिएको उक्त भोजमा हजारौँ शहरबासीहरू सहभागी भए ।

महामारी फैलिएको सुइँको त ऊ बेलै मिलिसकेको थियो जतिबेला  जनवरी ९ मै पहिलोपटक ६१ वर्षीय एक पुरुषको वुहान अस्पतालमा मृत्यु भयो ।

त्यसअघि वुहानमा ३१ डिसेम्बर, दिउँसो २ बजे आसपासबाट नयाँ रोगबारे फैलिएको हल्ला र सरकारी अधिकारीले गरेको केरकारले जनवरी १ मा वुहानको मासु पसल बन्द गराउनेसम्मको निर्णयमा चिनियाँ प्रशासनलाई पुर्‍यायो ।

त्यतिमात्र होइन, वुहानको मासु बजार क्षेत्र शिलबन्दी नै गरेर नमूना संकलन गरियो  ।

चीनका सामाजिक सञ्जालहरूमा नयाँ रोगको चर्चा भाइरल बन्यो । नयाँ रोगको ‘हल्ला फैलाएको’ भन्दै आठ जनालाई पक्राउ पनि गरियो ।

वुहानका अस्पताल उस्तै प्रकारका लक्षण देखिएका विरामीहरूले भरिभराउ हुन थाले । चिकित्सकहरुलाई समेत मास्क, पञ्जा लगायतका सावधानी अपनाएर मात्र बिरामीको हेरचाहका लागि सूचना जारी गरियो ।

पहिलोपटक रोग पहिचान गरेर सहकर्मीहरूलाई सूचित गरेका चिनियाँ डाक्टर ली वेनलियाङ प्रशासनको केरकारमा मात्र परेनन् कोरोना भाइरसबाट संक्रमित पनि भए । उनले यसलाई सामान्य रुघाखोकी नभई, सार्सजस्तै कुनै भाइरल रोगको शंका गरेका थिए।

यस्तो पृष्ठभूमिकाबीच जनवरी ९ मा चिनियाँ वैज्ञानिकहरूले रोग फैलाउने कारक नयाँ प्रजातिको कोरोना भाइरस भएको पुष्टि गरे ।

वैज्ञानिकहरूले पुष्टि गरेपछि चिनियाँ चिकित्सक श्वासप्रश्वास विशेषज्ञ झोङ नानशानलेले यो भाइरस मान्छेबाट मान्छेमा सर्छ भनेर दाबी गरेपछि मात्रै चीनले यसलाई महामारी घोषणा गर्‍यो ।

जब जनवरी २० मा राष्ट्रपति सी चिन फिङले महामारी फैलिएको सार्वजनिक गरे, त्यतिबेला चीनमा महामारीबाट एक जनाको मृत्यु र ३ हजार भन्दा बढी संक्रमित भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले भनिसकेका थिए ।

विश्व प्रतिष्ठित समाचार एजेन्सी एपीले प्राप्त गरेको एक गोप्य दस्तावेज अनुसार सीले महामारी घोषणा गरुन्जेलसम्म ३ हजार जना भन्दाबढी व्यक्ति संक्रमित भइसकेका थिए ।

चिनियाँ वैज्ञानिकहरु र चिकित्सकहरूले नयाँ प्रजातिको भाइरस र मान्छेबाट मान्छेमा सर्ने पुष्टि गरेलगत्तै चीनले महामारी घोषणा गरेर आवश्यक तयारी गर्नको साटो अरु ६ दिन के गर्ने र कसो गर्ने भनेर गरेको आलटाल नै अन्ततः घातकसिद्ध भयो जसले मानव जीवनकै अस्तित्वमाथि प्रश्न खडा गरिदियो ।

जनवरी १४ देखि जनवरी २० सम्मको ६ दिनको ढिलाइ कुनै देशले गरेको पहिलो गल्ती भने होइन । विश्वका अन्य देशहरूले पनि यसरी नै गल्ती गरे । कतिले हप्ता अथवा कतिले महिनासम्म ढिलाइ गरे ।

पहिलो पटक भाइरस देखिएको देशले ढिलाइ गर्नुले गम्भीर अर्थ राख्छ । चीनको त्यो ६ दिनको ढिलाइले आज विश्वभर २१ लाख हाराहारी मानिस संक्रमित भएका छन् भने १ लाख ३४ हजार भन्दाबढीको मृत्यु भएको छ ।

क्लालिफोर्निया विश्वविद्यालयका महामारी विज्ञ डा. जुओ फेङ झाङले यसलाई गम्भीर भूल भनेका छन् । चीनले ६ दिन अगावै कदम चालेको भए संक्रमण थोरैमा सीमित हुन्थ्यो कि भन्ने अपेक्षा गर्न सकिने उनको भनाइ छ ।

नेतृत्व तहले गरेको ६ दिनको ढिलाइ झन् लम्ब्याउँदै राष्ट्रिय रोग नियन्त्रण केन्द्रले १२ दिनसम्म कुनै पनि संक्रमणको घटना दर्ता नै गरेन जब कि जनवरी ५ देखि १७ को बीचमा वुहानका अस्पतालहरूमा हजारौँ संक्रमति भर्ना भइसकेका थिए ।

चीनमा सूचना पूर्ण नियन्त्रण गर्ने परिपाटी र नकारात्मक समाचार बाहिर ल्याउन नचाहने प्रवृत्तिले महामारीका सबै चेतावनीहरूलाई बेवास्ता गरियो, जसको दुष्परिणाम पूरा विश्वले भोगिरहेको छ ।

चीनको वुहानबाट सुरु हुँदै चीनबाहिर पहिलोपटक जनवरी १३ मा थाइल्याण्डको बैंकक विमानस्थलमा ६१ वर्षीय संक्रमित व्यक्ति फेला परे । उनी वुहानबाटै आएका थिए ।

समयमै महामारी घोषणा नगर्दा र आवश्यक प्रतिबन्ध नलगाउँदा मानिसहरू वुहानबाटै पनि विश्वका विभिन्न मुलुक पुगे, जसको परिणाम आज विश्वले भोगिरहेको छ ।

संक्रमण आज विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको छ । चीनले भने अहिले पनि कोरोना भाइरसको महामारीको सूचना लुकाउन खोजेको आरोप अस्वीकार गर्दै आएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले चीनमाथि महामारी लुकाउन खोजेको र अपारदर्शीताको आरोप आधारहीन भएको बताएका छन् । उनको तथ्यलाई गार्डियनमा प्रकाशित ‘हन्ड्रेड डेज द्याट चेन्ज्ड द वर्ल्ड’ नामक सामग्रीले पनि खण्डन गर्छ ।

उक्त सामग्रीमा दाबी गरिएअनुसार जनवरी १ र ९ को बीचमा नै चिनियाँ प्रशासनले ‘वुहान निमोनिया’, ‘वुहान मासु बजार’, ‘नयाँ भाइरस’ लगायत शब्दावली इन्टरनेटमा खोजी-खोजी सेन्सर गरेको थियो ।