स्वास्थ्य सामग्री लिएर चीनको गोन्जाओबाट काठमाडौं आइपुग्यो दुई वाइडबडी विमान

स्वास्थ्य सामग्री लिएर चीनको गोन्जाओबाट काठमाडौं आइपुग्यो दुई वाइडबडी विमान

नेपाल एअरलाइन्सका दुईवटा वाइडबडी विमान चीनको गोन्जाओबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं फर्किएको छ। केही बेरअघि १५ मिनेटको फरकमा दुवै विमान त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

एउटा बिहान ७ र अर्को विमान ७ बजेर १५ मिनेटमा काठमाडौं विमानस्थल अवतरण गरेका हुन्। कोभिड-१९ को रोकथाम तथा उपचारका लागि निजी क्षेत्रले खरीद गरेको सामग्री लिन निगमका दुई जहाज हिजो साँझ चीनको गोन्जाओतर्फ उडेको थियो।  

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार प्ल्यास फ्रेट लजिस्टिक र सिल्क फ्रेटले निगमका विमान कार्गो चार्टर्ड गरेका हुन्। प्ल्यास फ्रेट लजिस्टिकले २ वैशाखका लागि बुकिङ गरेको उडान निगमले प्रक्रिया पूरा नगर्दा उडान भर्न सकेको थिएन।

निगमले यसअघि पनि स्वास्थ्य सामग्री ल्याउन तीनपटक काठमाडौं-गोन्जाओ कार्गो चार्टर्ड उडान गरिसकेको छ।