लकडाउन खुकुलो बनाउने पक्षमा ट्रम्प

लकडाउन खुकुलो बनाउने पक्षमा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा नयाँ योजना ल्याउने बताएका छन् । उनले अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भइरहे पनि कोरोना संक्रमण “उच्चतम विन्दुमा” पुगिसकेको दाबी गरे ।

गत वर्षको अन्त्यतिर चीनमा देखिएको कोरोनाभाइरसको महामारीले विश्वलाई नै उल्टो दिशातर्फ मोडेको छ भने आधा मानवतालाई घरभित्रै रहन बाध्य पार्नुका साथै विश्व अर्थतन्त्रलाई दोस्रो ठूलो संकटतर्फ अग्रसर बनाएको छ । एएफपीको तथ्याङ्क अनुसार २० लाखभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने एक लाख ३३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मात्र गत २४ घण्टाको अवधिमा २ हजार ६०० जनाको मृत्यु भएको छ । तर राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भाइरस नियन्त्रणमा चालिएका “आक्रामक रणनीति” ले काम गरिरहेको दाबी गरेका छन् ।

उनले देशका खुला गर्न खोजिएका क्षेत्रहरुमा पनि कोरोना प्रसार रोक्न स्पष्ट “निर्देशिका” जारी गर्ने बताए । उनले कम प्रभावित राज्यमा आगामी मे १ तारिखभन्दा अगाडि नै प्रतिबन्धहरुलाई खुकुलो बनाइने जानकारी दिए ।