कोरोना संक्रमणको पछिल्लो स्थिति : देशभर ३० हजार बढी आरडीटी पठाइयो

कोरोना संक्रमणको पछिल्लो स्थिति : देशभर ३० हजार बढी आरडीटी पठाइयो

विगत ७२ घन्टा यता नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना भाइरस संक्रमित नयाँ बिरामी नभेटिएको जानकारी दिएका हुन्।

मंगलबार मात्र २ जनामा कोरोना भाइरस पोजेटिभ देखिए पनि बुधबार, बिहीबार र शुक्रबार कोरोना संक्रमित बिरामी नभेटिएका हुन्।

यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरसको विस्तृत परीक्षण गरिने आरटी पिसिआर मेसिनबाट परीक्षण सुरु हुने भएको छ। 

यसअघि १३ स्थानमा कोरोना भाइरसको आरटीपिसिआर प्रविधिबाट परीक्षण सुरु भइसकेको छ। सुरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट सुरु भएको यस्तो परीक्षण पाटनमा सुरु भएपछि १४ स्थानमा पुग्ने छ। 

७५ जिल्लामा भने कोरोना भाइरसको र्‍यापिड परीक्षण सुरु गरिसकिएको पनि उनले बताए। र्‍यापिडमा पोजेटिभ देखिए पिसिआर प्रविधिबाट परीक्षण गर्न थालिएको छ। कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ जनाको नमूना परीक्षण भएको छ।

यो सँगै कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या २४ हजार २ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार ६ सय ८८ पिसिआरबाट र १६ हजार ५ सय ६५ जनाको आरडीटीबाट परीक्षण गरिएको प्रवक्ता डा. देवकोटाले बताए। 

सोलुखुम्बु र डोल्पामा मात्र आरडीटीबाट कोरोनाको परीक्षण सुरु नभएको प्रवक्ता देवकोटाले बताए।मन्त्रालयले सबै प्रदेशमा गरी हाल कुल ३० हजार आरडीटी किट पठाएको छ।

काठमाडौं उपत्यकामा ५ र बाहिर ८५ गरी जम्मा ९० जना व्यक्ति आइसोलेसनमा भर्ना भइ उपचाररत छन्। मुलुकभर हाल ४ हजार ६ सय ७ जना क्वारेन्टाइनमा छन्।