नेपाल टेलिकमको पोस्टपेड सिम प्रयोग गर्दा कति तिर्नुपर्छ पैसा ? यस्ता छन सुविधा !

नेपाल टेलिकमको पोस्टपेड सिम प्रयोग गर्दा कति तिर्नुपर्छ पैसा ? यस्ता छन सुविधा !

केही दिन अघि सोसल मिडिया नेपाल टेलिकमको बिलिङ सिस्टमको बारेमा निकै चर्चा भयो। कतिपयले नेपाल टेलिकमले एकै पटक स्वाट्टै पैसा तानेको प्रतिक्रिया पनि दिए।

विशेषगरी नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड प्रयोग गर्नेहरू बिलिङ सिस्टमको बारेमा पूर्ण जानकार नहुँदा बेला बेला झुक्किने गरेको नेपाल टेलिकमले बताएको छ।

नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड  प्रयोग गर्ने ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्ट अर्थात भुक्तानी नभएको रकमको रूपमा लेखाङ्कन गरिने र महीनाको अन्तिममा बील तयार गरेर भुक्तानी लिने गरेको नेपाल टेलिकमले बताएको छ।

नेपाल टेलिकमको पोस्टपेड सिमकार्डबाट फोन गर्दा प्रतिमिनेट ५५ पैसा लाग्छ भने प्रि–पेडबाट फोन गर्दा ७० पैसा प्रतिमिनेट लाग्छ।

के हो अलबिल्ड अमाउन्ट ?

पोस्टपेड सिमकार्ड  प्रयोग गर्ने ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्ट अर्थात भुक्तानी नभएको रकमको रूपमा महीनाभर लेखाङ्कन गरिएको हुन्छ। 

महीनाको अन्त्यमा (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मात्रै नेपाल टेलिकमले बिल तयार गर्छ। यसरी बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल अथवा तिर्न बाँकी रहेको बिल भनिन्छ।

जस्तै, मार्च २२ मा ९८५१०००००० को अनपेड बिल १४२५ रूपैयाँ भयो भने ग्राहकले मार्च १४ सम्म (फागुन महीना वा सो भन्दा अघि)को बिलमध्ये १४२५ रुपैयाँ भुक्तानी गर्न बाँकी छ भन्ने बुझ्नुपर्छ।

त्यसैगरी, मार्च २२ सम्ममा ९८५१०००००० नम्बरको अनबिल्ड अमाउन्ट २४८ छ भने भन्नाले मार्च १५ (मार्च १४ सम्मको बिल तयार भए पश्चात्) भन्दापछि मार्च २२ सम्म उपभोग गरेको सेवावापत तिर्नुपर्ने रकम २४८ रूपैयाँ छ बुझ्नुपर्ने नेपाल टेलिकमले बताएको छ।

यस्तो महीनाभरको अनबिल्ड अमाउन्टका आधारमा चैत महीनाको अन्त्य (अप्रिल महिनाको १५ तारिख)मा प्रोसेसिङ गरी बिल तयार गरिन्छ।

ड्यू अमाउन्ट के हो ?

सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू अमाउन्ट भनिन्छ । ड्यू अमाउन्ट भनेको अनपेड बिल र अनबिल्ड अमाउन्टको योगफल हो।

जस्तै, ९८५१०००००० नम्बरको ग्राहकको मार्च २२ मा ड्यू अमाउन्ट १६७३ (१४२५+ २४८) रूपैयाँ हुन्छ।

यी सबै बिलिङ रकमको जानकारीका लागि *400#  डायल गरेर पनि लिन सकिने नेपाल टेलिकमले बताएको छ। यसरी कल गर्दा आउने एसएमएसमा देखिने अभाइलेबल क्रेडिट चाहीँ अब ग्राहकले प्रयोग गर्न पाउने रकम हो।

क्रेडिट लिमिट के हो?

नयाँ पोस्टपेड नम्बर लिदा नेपाल टेलिकमले स्वामित्व करबापतको रकम ५०० रूपैयाँ, भ्याटवापत ६५ र क्रेडिट लिमिट वापत ३८० रुपैयाँ गरी जम्मा ९४५ रुपैयाँ लाग्दछ। स्वामित्व कर र भ्याटवापतको रकम सरकारी कोषमा जम्मा हुन्छ भने ३८० रूपैयाँ रकमको ग्राहकले सेवा प्रयोग गर्न पाउँछन्।

नेपाल टेलिकमको पोस्टपेड सिम प्रयोगकर्ताको लागि यो ३८० रूपैयाँ नै क्रेडिट लिमिट हो। नयाँ पोस्टपेड सिम लिँदा लाग्ने शूल्कमा समयअनुसार परिमार्जन हुँदै आएकोले ग्राहकको क्रेडिट लिमिट पनि फरक हुन सक्ने नेपाल टेलिकमले बताएको छ।

रेन्टल चार्ज
पोष्टपेड सिमकार्डमा मासिक रूपमा न्यूनतम ३८३.०७ रूपैयाँ रेन्टल चार्ज तय गरिएको छ। यसको अर्थ ग्राहकले यो भन्दा थोरै रकमको सुविधा प्रयोग गरे पनि ३८३.०७ रूपैयाँ अनिवार्य रूपमा तिर्नै पर्छ। नेपाल टेलिकमले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्ने टेलिकमले बताएको छ।

यही रेन्टल रकमबाटै फोन गर्न, एसएमएस गर्न वा डेटा चलाउन पाइन्छ। तर, पोष्टपेड प्याक बाहेक अन्य छुट्टै प्याक किन्दा थप पैसा तिर्नुपर्छ। पोस्टपेड प्याक लिनका लागि *1415*2# डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिने टेलिकमले बताएको छ।

त्यसैगरी, सञ्चित रकम सकिएर कल गर्न रोकिएको पोस्टपेड नम्बरमा रिचार्ज गर्दा पहिलेको नेगेटिभ व्यालेन्स कट्टा गरी बाँकी रकम मात्र व्यालेन्समा देखिन्छ।

सेवा एकतर्फी भएको मोबाइलमा पहिल्यै किनेको प्याक बाँकी रहेछ भने त्यो प्याक पनि चलाउन नमिल्ने र रिचार्ज गरी दुईतर्फी सेवा सुचारु भएपछि बाँकी रहेको प्याक पुनस् प्रयोग गर्न सकिने नेपाल टेलिकमले बताएको छ।

सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा बिल हिसाब गर्दा धेरै ग्राहक झुक्किने गरेको पाइएको नेपाल टेलिकमले बताएको छ।

महीना भर थोरै मात्र रकम प्रयोग गरेको भए पनि ३८३.०७ जोडेर त्यो महिनाको हिसाब गरिने भएकोले ग्राहक झुक्किने गरेको टेलिकमले बताएको छ। पोस्टपेड सिम प्रयोगकर्ताले महीना भरमा १०० रूपैयाँ मात्रै प्रयोग गरेको भए पनि  ३८३.०७ रूपैयाँ नै काटिने टेलिकमले बताएको छ।

बिल थाहा पाउने तरिका
पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि *400# डायल गर्न वा कम्पनीको वेबसाइट https://gsmbl.ntc.net.np/ बाट र कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि हेर्न सकिने टेलिकमले बताएको छ। नेपाल टेलिकमको एपबाट ग्राहकले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड हेर्न सकिन्छ।