नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश !

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश !

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ ।

भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा गत शुक्रबार नै कोरोना संक्रमण रहेको पुष्टि भइसकेको थियो भने विराटनगरका थप एकजनामा शनिबार संक्रमण भेटिएको थियो। यस्तै, मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी कुल ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएकोमा ८ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै थप ११ जनामा संक्रमण पुष्टि गर्दै संक्रमितको कुल संख्या ४२ पुगेको जनाएको छ। सुरुमा कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो भने एकजनाको रिपोर्ट आउन बाँकी नै थियो।

यस्तोमा पोजिटिभ देखिएका ८ जनालाई भुल्केबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ नै आएको हो। साथै, मंगलबार नै भुल्केकै तीनजनाको काठमाडौंमा परिक्षण गर्दा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।