अमेरिकाले ६० दिनका लागि 'ग्रीन कार्ड'सम्बन्धी गतिविधि राेक्ने

अमेरिकाले ६० दिनका लागि 'ग्रीन कार्ड'सम्बन्धी गतिविधि राेक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड’सम्बन्धी गतिविधि ६० दिनसम्म रोक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गरेर आप्रवासनसम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेका हुन् । 

कोरोना भाइरस (कोभिड १९) का कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पको भनाइ छ । अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागू हुने छैन ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि आफ्नो प्रशासनले गरेको कमजोर प्रयासबाट ध्यान अन्यत्र भड्काउनका लागि ट्रम्पले यस्तो निर्णय लिएको आलोचकको भनाइ छ । 

आप्रवासनसम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने आफ्नो घोषणा दुई महिना अर्थात् ६० दिनका लागि रहेको ट्रम्पले स्पष्ट पारेका छन् । 

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म ४५ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै भाइरसबा६ सङ्क्रमित हुनेको सङ्ख्या आठ लाख १७ हजार नाघेको छ ।