कोरोनाबाट एकैदिन साढे ६५ सय बढीको मृत्यु, करिब ८० हजार बिरामी थपिए

कोरोनाबाट एकैदिन साढे ६५ सय बढीको मृत्यु, करिब ८० हजार बिरामी थपिए

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट एकैदिन साढे ६५ सय भन्दा बढीको मृत्यु भएको छ भने करिब ८० हजार नयाँ बिरामी उपचारको लागि अस्पताल पुगेका छन्।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबार विश्वभर कोरोना भाइरसका कारण ६ हजार ५ सय ८९ जनाले ज्यान गुमाएका छन्। सोही दिन विश्वभर ७९ हजार ५ सय १५ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

अमेरिकामा बुधबार कोरोनाका कारण २ हजार ३ सय ४१ जनाको मृत्यु भएको थियो भने २९ हजार ९ सय ७३ नयाँ बिरामी थपिएका थिए। स्पेनमा बुधबार नै कोरोनाबाट ४ सय ३५ जनाका मृत्यु भएको थियो। सही दिन स्पेनमा कोरोनाका ४ हजार २ सय ११ जना नयाँ संक्रमित उपचारको लागि अस्पताल पुगेका थिए।

इटालीमा ३ हजार ३ सय ७० नयाँ बिरामी थपिएको दिन ४ सय ३७ जनाले ज्यान गुमाएका छन्। फ्रान्समा बुधबार कोरोका कारण ज्यान गुमाउनेको संख्या ५ सय ४४ रहेको छ। सोही दिन फ्रान्स्मा १ हजार ८ सय २७ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए।

जर्मनीमा बुधबार २ हजार १ सय ९५ जना नयाँ बिरामी थपिएका थिए भने २ सय २९ जनाको मृत्यु भएको थियो। बेलायतमा थप ४ हजार ४ सय ५१ जनामा बुधबार कोरोना भाइरसको संक्रमण देखिएको थियो। सोही दिन बेलायतमा कोरोना कारण ७ सय ६३ जनाले ज्यान गुमाएका थिए।

टर्कीमा ३ हजार ८३ कोरोनाका नयाँ बिरामी थपिएका थिए भने १ सय १७ जनाको मृत्यु भएको थियो। इरानमा बुधबार कोरोनाका कारण ९४ जनाको मृत्यु भएको थियो। सोही दिन इरानमा १ हजार १ सय ९४ जना नयाँ बिरामी देखिएका थिए।

रुसमा बुधबार थप ५ हजार २ सय ३६ जनामा कोरोना संक्रमण देखिएको थियो भने ५७ जनाको मृत्यु कारण कोरोना भाइरसको संक्रमण बन्यो। ब्राजिलमा २ हजार ६ सय ७८ नयाँ बिरामी देखिएको दिन बुधबार १ सय ६५ जनाले ज्यान गुमाए।

बेल्जियममा बुधबार कोरोनाबाट २ सय ६४ जनाको मृत्यु भएको थियो भने ९ सय ३३ जना नयाँ बिरामी थपिएका थिए। नेदरल्याण्ड्समा बुधबार १ सय ३८ जनाको मृत्यु र थप ७ सय ८ जनामा कोरोना भाइरस देखिएको थियो।