उत्तर कोरियाका नेता किम गम्भीर विरामी नभएको ट्रम्पको दावी

उत्तर कोरियाका नेता किम गम्भीर विरामी नभएको ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उन गम्भीररूपमा अस्वस्थ भएको सूचनामा सत्यता नरहेको बताएका छन् ।

ट्रम्पले कोरोना भाइरस सम्बन्धी नियमित टास्क फोर्स ब्रिफ्रिङका क्रममा किम जोङ उन गम्भीर बिरामी भएको समाचार असत्य भएको दावी गरेका हुन् ।

‘उनी बिरामी भएको सूचना विभिन्न माध्यमबाट मैले पाएँ, मलाई लाग्छ उनी बिरामी भएका विवरण अरु असत्य हुन्’, ट्रम्पले भने,  ‘मलाई लाग्छ किमको स्वास्थ्य अवस्थाबारेको रिपोर्ट सही छैन । मैले सुने अनुसार समाचार सार्वजनिक गर्ने ‘नेटवर्क’ले पूरानो कागजातलाई सूचनाको आधार बनाएको छ ।’

राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र त्यसका सर्वोच्च नेता किम जोङ उनसँग आफ्नो एकदमै राम्रो सम्वन्ध रहेको स्मरण समेत गरे ।

यसअघि ट्रम्पले गत मङ्गलबार किम गम्भीर विरामी भएको सूचना आएको भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त बिरामी भएको विवरण दिएका थिए ।

नेता किम यही अप्रिल १५ तारिखमा आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित भएको समाचारहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका थिए ।