मोबाइलको चार्ज पाँच दिनसम्म टिकाउन सकिन्छ !

मोबाइलको चार्ज पाँच दिनसम्म टिकाउन सकिन्छ !

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले एउटा नयाँ किसिमको ब्याट्री निर्माण गरेका छन् जसले कुनैपनि स्मार्टफोनको चार्ज पाँच दिनसम्म टिकाइ राख्न सक्ने र विद्युतीय गाडीलाई १ हजार किलोमिटरसम्म कुद्ने ऊर्जा प्रदान गर्न सक्ने दाबी गरिएको छ ।

यसरी प्राविधिक क्षेत्रमा यो ब्याट्री प्रयोगमा आए वातावरणमैत्री र प्रभावकारी ऊर्जाको हिसाबले यो उपलब्धी ऐतिहासिक हुने बताइएको छ । यस अनुसन्धानका लागि अष्ट्रेलियाको सरकारले आर्थिक योगदान गरेको थियो । 

मेलबर्नस्थित मोनास युनिभर्सिटीका अनुसन्धान टोलीले बताएअनुसार यो ‘लिथियम–सल्फर’ ब्याट्री विश्वकै सबैभन्दा प्रभावशाली रहेको छ र यसले परम्परागत ब्याट्रीको तुलनामा चार गुणा कुशलतापूर्वक काम गर्न सक्छ ।

यसरी उनीहरु अहिले सो आविस्कारलाई व्यवसायिक रुप दिनमा लागिरहेका छन् र जलवायु परिवर्तन विरुद्धको लडाईमा पनि यसले उल्लेखनीय फाइदा पुर्याउन सक्ने बताएका हुन् । 

हामीले प्रयोग गर्ने प्रायः सबै ब्याट्री लिथियम–आयन ब्याट्री हुन् । यसबीच उच्च ऊर्जा प्रवाह र कुनैपनि डिभाइसलाई लामो समयसम्म पावर दिन सक्ने क्षमताका कारण लिथियम–सल्फरलाई लामो समय अगाडि नै आकर्षक विकल्पका रुपमा लिइएको छ ।

तर अर्कोतर्फ डिभाइसमा लामो समय ब्याट्री टिकाएपनि लिथियम–सल्फर ब्याट्रीको आयु भने छोटो हुने गरेको छ । अहिले यसलाई केही विमान र कारहरुमा प्रयोग गरिएको छ भने व्यवसायिक रुप दिने यसअघिका सबै प्रयासहरु विफल भएका थिए । 

व्याट्री विद् फ्याराडे इन्स्टिच्युसनका अनुसार लिथियम–सल्फर ब्याट्रीको विश्वव्यापी प्रयोगका थुप्रै अवरोधक पक्षहरु छन् जसमा सल्फरको ‘इन्सुलेटिङ’ प्रकृति र ‘मेटालिक लिथियम एनोडको डिग्रेडेसन’ सबैभन्दा ठूला चुनौति हुन् ।

जर्नल ‘साइन्स अड्भान्सेस’ मा प्रकाशित यस अध्ययनका अनुसन्धान टोलीले अहिले सल्फर क्याथोडका डिजाइनलाई पुनः परीक्षण गरिरहेका छन् र कूल प्रदर्शनमा गिरावट नल्याइ ठूलो लोड भएका डिभाइसको भार पनि उठाउन सक्ने बनाउनमा काम गरिरहेका छन् ।

अध्ययनका प्रमुख, प्रोफेसर मेनक मजुमदर भन्छन्, “ यस मार्फत हामी अष्ट्रेलियाको सवारी बजारमा नयाँ क्रान्ति ल्याउन सक्छौँ भने विश्वसनीय र वातावरणमैत्री ऊर्जा बजार सिर्जना गर्न सक्नेछौँ ।” 

यसले अति प्रभावशाली प्रस्तुतीका साथै एकदम कम खर्चमा निर्माण गर्न सकिने हुनाले पनि यो खोजीलाई महत्वपूर्ण मानिएको उनी बताउँछन् । त्यस्तै यसमा पानीसँग सम्बन्धित प्रक्रिया रहेको हुँदा वातावरणलाई हानि पुर्याउने फोहोर अत्यन्तै कम उत्सर्जन गर्दछ ।